टीकापुर, साउन । कर्णाली नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रमा त्रास शुरु भएको छ । सोमबार दिउँसो १ः३० बजेकोे रेकर्ड अनुसार कर्णाली नदीमा पानीको सतह १० मिटर १६ सेन्टिमिटर पुगेको छ । कर्णाली चिसापानीका गेजरिडर पार्वती गुरुङका अनुसार बिहान ८ बजेको रेकर्डमा आठ मिटर ८० सेन्टिमिटर रहेको थियो ।
कर्णालीको ठूलीगाड, सेती र भेरी नदीमा पनि पानी बढिरहेकाले अझै पानीको सतह बढ्नसक्ने उनले बताए । उनले पहाडतिर भारी वर्षा भएको र नदीमा पानीको सतह बढिरहेकाले तटीय क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सतर्क रहन आग्रह गरेका छन ।
“नदी उर्लिएर आएको छ, यसैगरी बढेमा तटीय क्षेत्र डुबान हुन्छ”, गेजरिडर गुरुङले भन्नुभयो, “मैले जोखिममा रहेका क्षेत्रमा सूचना गरिसकेकी छु, जोखिममा रहेका बस्ती सार्न आवश्यक छ ।” नदीमा पानीको बहाव बढेपछि नेपाल रेडक्रस सोसाइटी टीकापुर, भजनी नगरपालिका र टीकापुर नगरपालिकाले नागरिकलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन् ।
“हामीले सूचना प्रणालीमा रहेका सबैलाई सूचना गरिसकेका छौँ”, रेडक्रस सोसाइटी टीकापुरका सभापति जगदीश्वर पण्डितले भने, “उद्धार र क्षतिबाट जोगाउन पूर्वतयारी आवश्यक छ ।”
बस्तीमा बाढी पसेपछि भजनी नगरपालिकाले सोमबार बिहानैबाट जोखिममा रहेका नागरिकलाई उच्च सडकमा सार्न शुरु गरिसकेको स्थानीय उद्धारकर्ता जयप्रसाद ढुङ्गानाले बताए । “सयौँ परिवार सडकमा त्रिपाल लगाएर बसिरहनुभएको छ”, ढुङ्गानाले भने, “यसपटक बाढीले तहस नहस पारेको छ । नागरिकको बिचल्ली भएको छ ।”
चिसापानीमा कर्णाली नदीको सतह नौ मिटर पुगे सर्तक, १० मिटर पुगे पूर्वतयारी र ११ मिटर पुगे तटीय क्षेत्रका लागि खतरा मानिन्छ । सेतीमा पानीको बहाव उच्च ः सचेत हुन आग्रह डोटी– लगातारको वर्षाका कारण डोटीको सेती नदीमा पानीको बहाव अत्यधिक बढेको छ । नदीमा पानीको बहाब बढेकाले नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले स्थानीय वासीलाई आग्रह गरेको छ ।
डोटीको गोपघाट र दिपायलमा रहेको बाढी मापन केन्द्रका अनुसार जलसतह मापनभन्दा अधिक बढेको छ । सेती नदीमा गरिएको पानीको बहाव मापन अनुसार ८.४ क्युसेक रहेको छ । यो ‘वार्निङ प्वाइन्ट’ भन्दा माथि हो । केन्द्रका अनुसार ३.५ क्युसेक बाढीको बहाव हुँदा नदीमा बाढीको बढी खतरा हुने गर्दछ ।
नदीले यहाँका धान रोपेका खेत पनि कटान गरी बगाउन थालेको छ । सेती नदी आसपासका बस्तीहरु बानीडुग्रीसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, रामपुर, दिपायल, घोल्तडा तथा नारीदाङका स्थानीयवासीलाई विशेषगरी रातिको समयमा सचेत रहन यहाँको प्रहरी प्रशासनले आग्रह गरेको छ ।
त्यसैगरी नदीमा पानीको बहाव बढ्न थालेसँगै इलाका प्रहरी कार्यालय दिपायल, प्रहरी चौकी तिल्तालीको टोलीले नागरिकलाई नदी क्षेत्रमा नजान तथा सचेत रहन माइकिङ गरिरहेको छ ।
सेती नदीमा पानीको बहाव बढेकाले नदी आसपासका नागरिकलाई सुरक्षित रहन र नदीमा माछा मार्दै आएका नागरिकलाई केही दिन नदीमा नजानसमेत आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “सेती नदीमा पानीको बहाव निकै बढेको छ, नदी आसपासका नागरिकसहित सेतीमा माछा मार्दै आएका नागरिकलाई पनि पानीको बहाव नघटुञ्जेल नजान आग्रह गरेका छौँ ।”
नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा क्षेत्रमा बसोबास गर्नेलाई सचेत रहनसमेत स्थानीय प्रशासनले आग्रह गरेको छ । त्यसैगरी लगातारको वर्षाका कारण बाढीपहिरो आउने खतरा बढेकाले प्रमुख जिल्ला अधिकारी भट्टराईले विपद् व्यवस्थापनमा जुट्नका लागि जिल्लाका तीनवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई ‘हाइअलर्ट’ मा बस्न निर्देशनसमेत दिएका छन ।
विपद् तथा नदीबाट हुने खतराबाट जोगिन प्रशासनले चौबीसै घण्टा सुरक्षाकर्मीलाई ती क्षेत्रमा अनुगमन गर्न निर्देशनसमेत दिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । जिल्लामा रहेका विभिन्न अन्य नदी तथा ठूला खोलामा पानीको सतह मापन गरिने उपकरण नभएका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न थालेपछि सतर्कता अपनाउन स्थानीयवासीलाई प्रशासनले आग्रह गरेको छ ।
जिल्लामा लगातार वर्षा भइरहे पनि अन्य साना नदीमा पानीको बहाव समान्य अवस्थामै रहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए । त्यसैगरी डोटी जिल्लामा भारी वर्षा शुरु भएसँगै बाढी पहिरोको त्रास फैलिएको छ । वर्षाकै कारण यहाँका विभिन्न ठाउँमा पहिरो गएको छ भने एक दजर्नभन्दा बढी ग्रामीण सडक अवरुद्ध भएका छन् ।
वर्षा शुरु भएसँगै जिल्लाको ग्रामीण भेगका अधिकांश सडकमा अहिले सवारी साधन गुड्न सकेका छैनन् । वर्षाले हिलाम्मे भएका यस्ता सडकमा सवारी साधन गुड्न बन्द भएसँगै सदरमुकाम सिलगढीसँग यहाँका गाउँघरको सम्पर्कसमेत विच्छेद हुन थालेको सायल गाउँपालिका–१ का दीर्घराज ओझाले बतारए । उहाँले भन्नुभयो, “लगातारको वर्षाले सडक बिग्रेका छन्, सदरमुकामसँगको हाम्रो सम्पर्क बन्द भएको छ ।”