काठमाडौँ, साउन । नारायणगढ-मुग्लिन सडक प्रयोग गरेबापत सडक उपभोग दस्तुर लाग्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले नारायणगढ-मुग्लिन सडक खण्ड प्रयोग गरेबापत सडक उपभोग दस्तुर सङ्कलन गर्न स्वीकृति प्रदान गर्ने निणर्य गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जनाएका छन । ।
उक्त सडक खण्डमा हलुका सवारी साधनको २५ रुपियाँ र भारी सवारी साधनको ५५ रुपियाँका दरले सडक उपभोग दस्तुर सङ्कलन गर्न स्वीकृति प्रदान गरिएको हो । मोटरसाइकल र स्कुटरको हकमा सडक उपभोग दस्तुर लाग्ने छैन ।
मन्त्रिपरिषद् बैठकको निणर्यबारे जानकारी दिन बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले सो जानकारी दिए। साउन १२ गते बसेको मन्त्रिपरिषद्ले गरेको सो निणर्य यही भदौ १ गतेबाट लागू हुनेछ ।
सो सडक खण्डको नियमित मर्मत सम्भार गर्न बजेटको अभाव नहोस् भन्ने उद्देश्यसहित सडक उपभोग दस्तुर लागू गरिएको सडक विभागले जनाएको छ । मुग्लिन र नारायणगढको बीचमा ढाँट राखेर यो दस्तुर सङ्कलन गरिनेछ ।