खलङ्गा, साउन ९ गते । बिकट भौगोलिक अवस्थाका कारण प्रायजसो आइपर्ने प्राकृतिक बिपत्तिमा परेर बिस्थापति भई बिद्यालयमा बस्दै आएका एक दीर्घरोगीको उचित हेरचाह र स्याहार नपाउँदा मृत्युभएको छ । लामो समयदेखि दीर्घरोगले थलिएका बारेकोट ४ सार्कीटोलका ६५ बर्षीय दलवीर सार्कीको दुई दिन अगाडि मृत्युभएको हो ।
पहिरोले घर बगाएपछि विस्थापित भएर स्थानीय एक विद्यालयमा बसेका उनको विद्यालयमै मृत्यु भएको हो । दम रोगले पीडित सार्कीले हप्ता दिनदेखि राम्रोसँग खाना खान पाउनुभएको थिएन । विद्यालयको चिसो भुँईमा सुत्दा उहाँको रोग थप बल्झिएको थियो ।
आर्थिक अभावका कारण उहाँलाई उपचारका लागि स्वास्थ्य चौकीसम्म लैजाने व्यवस्था पनि हुन सकेन । वडा सचिव डम्बरबहादुर पुनले भने, उचित स्याहार नपाएको, पेटभरी खान नपाएको र विद्यालयको चिसो भुँइमा बसेका कारण सार्कीको ज्यान गयो ।
उनी मात्र होइन, धेरै विस्थापित परिवार हालसम्म पनि भोक भोकै बस्न बाध्य छन् । कतिपयले आधा पेट खाएर गुजारा चलाएका छन् । ठूलो संख्यामा एकै पटक मानिस विस्थापित हुँदा स्थानीय सरकारलाई ब्यवस्थापनमा समस्या परिरहेको छ । घटना भएको दुई हप्ता पुग्दा पनि पीडितले अझैसम्म राहत पाउनसकेका छैनन् ।
बारेकोट गाँउपालिकाका अनुसार गत असार २५ मा बारेकोट ४ सार्की टोलमा गएको पहिरोमा परी ११ जनाको मृत्यु भएको छ । गाँउपालिका अध्यक्ष महेन्द्र शाहले बारेकोटका विभिन्न वडामा गएको पहिरोमा परी अझै दुईजना बेपत्ता भएको जनाए ।
बाढी पहिरोको कारण एकहजार ५५ परिवारका ६ हजार ५०७ जना विस्थापित भएको उहाँको भनाइ छ । ५४ घर भत्किएको, ४७७ घर उच्च जोखिममा रहेका छन् ।
बारेकोट गाँउपालिकाका विभिन्न वडामा पटक पटक आएको बाढी पहिरोले ठूलो धनजनको क्षति गरेको हुँदा विस्थापित परिवारलाई गाँस र बासको ब्यवस्था गर्न निकै कठिनाई भएको छ ।
बारेकोट ४ सार्की टोलका करे सार्कीले आधा पेट खान थालेको हप्ता दिन भइसकेको छ । उनले घर छोडेको १४ दिन भइसक्दा पनि राहत नपाउँदा कसरी बाँच्ने भन्ने चिन्ता थपिएको दुःखेसो थियो ।
बारेकोटका जिरी, तल्लो जिरी , धौलाकोट, मैना, तोलखाना, कालाखोली, भैलोखाना, धुमा, धौलाकोट, कोट्लीलगायतका गाँउका मानिस विस्थापित भएर स्थानीय विद्यालयमा बसिरहेका छन् ।
जिल्ला परुशासन कार्यालय जाजरकोटका अनुसार, आवश्यक बसाई व्यवस्थापनका लागि प्रदेश तथा संघीय सरकारवाट केही सामग्री पठाइ सकिएको र खाद्यान्न तथा अन्य बन्दोबस्तीका सामान पठाउने पहल भइरहेको छ ।