२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

जङ्गीअड्डामा पृतनापति भेला

सेनाकाे ठहर : "राम्रो काम गर्दा गर्दै विवादमा तान्ने काम भयाे"

बैठककाे निष्कर्ष : 'विप्लव समूह राष्ट्रिय सुरक्षाका लागि चुनौती'

आइतवार , आषाढ ७, २०७७

 

काठमाडौं.  असार । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध  नेपाली सेनाले गरेकाे काम कारबाहीबारे छलपफल गरेकाे  छ । छलपफलमा सेनाले  राम्रो काम गर्दा गर्दै विवादमा मुछिएको  निष्कर्ष निकालिएको  छ । यसमा नेपाली सेनाले असन्तुष्टि जनाएको छ ।

सैनिक नीति तथा योजना तय गर्न छलफल गरिने ‘पृतनापति समन्वयात्मक बैठक’ मा महामारीमा सेनाले गरेका काम कारबाहीबारे छलफलमा साे कुरा उठाइएकाे  थियो । 

दुई दिनसम्म जङ्गी अड्डामा चलेको बैठकमा सहभागी एक उच्च सैन्य अधिकृतले भने ,  कोरोना महामारीमा राम्रो काम गर्दा गर्दै पनि सेनालाई विवादमा तानिएको निष्कर्ष निकालिएको हो ।

छलपफलमा  कोरोना नियन्त्रण तथा प्रतिकार्यमा सेनाका विभिन्न युनिटले गरेका कामबारे जर्नेलहरुले ‘प्रिजेन्टेसन’ गरेका थिए । त्यस क्रममा सही नियतले गरिएको काममा प्रश्न उठेको बताउँदै आगामी दिनमा सुधार र परिमार्जन गर्नुपर्ने विषयबारे छलफल भएको उनले बताए ।

उनले भने, ‘संवैधानिक काम गर्दा गर्दै पनि विवादमा पार्ने काम भयो, त्यसमा के गर्दा राम्रो हुन्थ्यो भन्नेबारे छलफल भएको छ ।’ सेनालाई नियतवस विवादमा मुछिएको अधिकृतहरुको भनाइ छ । यद्यपि, यसबारे ती अधिकृतले विस्तृतमा खुलाएनन् ।

सेनाले चीनबाट जीटुजी (सरकार–सरकार) प्रक्रियाबाट दुई अर्ब २५ करोड बढीको ३४० टन स्वास्थ्य सामग्री ल्याउने गरी चिनियाँ वाणिज्य मन्त्रालयसँग सम्झौता गरेको थियो ।

मन्त्रालयले पठाएको पठाएको सूची अनुसारको मूल्य रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल लगायतबाट पारित गरेर सामान ल्याइए पनि सेनाले महँगोमा सामान किनेको भन्दै विवाद भएको थियो ।

यद्यपि, सेनाले किनेको सामग्रीमध्ये ६ वटा स्वास्थ्य विभागले ओम्नी समूहबाट खरिद गरेभन्दा निकै सस्तो मूल्यमा किनिएका थिए  । ओम्नीभन्दा निकै पछि र विश्वमै संक्रमण दर बढिरहेका वेला खरिद गरिएका कारण पनि केही सामग्रीको मूल्य महँगो पर्न गएको अधिकृतहरुको भनाइ छ ।

बैठकमा पृतनापतिहरुले महामारीमा भारत र हवाई मार्ग हुँदै विभिन्न मुलुकबाट आएका नागरिकको व्यवस्थापनबारे पनि कुरा उठाएका थिए । ‘होल्डिङ एरिया भन्ने वित्तिकै सबै सेनाले व्यवस्थापन गर्ने भन्ने बुझाइ देखिएको छ’, एक सैनिक अधिकृतले बैठकमा भनेका थिए, ‘सरकारका सबै निकायको समन्वय हुनुपर्छ र खुवाउने लगायतको जिम्मेवारी सेनलाई दिइएको छैन । त्यसले नागरिकमा गलत अर्थ गइरहेको छ ।’

यसका लागि विभिन्न निकायसँग कसरी समन्वय गर्ने भन्नेबारे छलफल भएको छ ।

 

विप्लव समूह : राष्ट्रिय सुरक्षाका लागि चुनौती

सेनाले प्रतिबन्धित विप्लव समूह राष्ट्रिय सुरक्षाका लागि चुनौतिपूर्ण रहेको पनि निष्कर्ष निकालेको छ । पछिल्लो समय मुलुकका विभिन्न ठाउँमा भण्डारण गरिएका विष्फोटक पदार्थ धमाधम बरामद हुँदै जाँदा भविष्यमा आउन सक्ने चुनौतिबारे पनि छलफल भएको छ ।

शुक्रबार र आइतबार जंगीअड्डामा भएको दुई दिने बैठकमा युद्धकार्य महानिर्देशनालयले मुलुकको सुरक्षा स्थिति र चुनौतिबारे प्रस्तुतिकरण दिएको थियो ।

बैठकमा भारतले नेपाली भूमि मिचेर दार्चुलामा सडक बनाएपछि जारी नयाँ नक्साको विषयमा पनि छलफल भएको छ । यसबाट आउन सक्ने परिणामबारे पनि छलफल भएको स्रोतको भनाइ छ ।

साथै यो विषयलाई कूटनीतिक तथा राजनीतिक संवादबाट हल हुनुपर्ने सैनिक अधिकृतहरुको धारणा छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले पनि बुधबार छाङरुको भ्रमण गरेका छन् । जसलाई अर्थपूर्ण मानिएको छ ।

 

पारदर्शी भएर काम गर्न प्रधानसेनापतिको निर्देशन

बैठकमा प्रधानसेनापति पूर्णचन्द्र थापाले  भने, पद्धति र प्रणालीमा आधारित संगठन निर्माणमा लाग्न सबैलाई निर्देशन दिए । उनले जिम्मेवार, जवाफदेही, पारदर्शी र उत्तरदायी भएर काम गर्न पनि निर्देशन दिए ।

उनले भनेका छन्, ‘व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सांगठनिक हित, कल्याण र राष्ट्रिय स्वार्थ प्राप्तका लागि अविचलित भएर कर्तव्यपथमा लाग्नुस् ।’ थापाले नेपालको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई अक्षुण राख्न सेना तत्पर रहेको बताए ।

उनले औषधि खरिद विवादबारे केही नबोलेको एक सैन्य अधिकृतको दाबी छ । यद्यपि, उनले ‘संवैधानिक दायित्व निर्वाह’ गर्न नेपाली सेना सदा प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

थापाले राष्ट्रिय, क्षेत्रिय र अन्तर्राष्ट्रिय सुरक्षा वातावरण र त्यसले राष्ट्रिय सुरक्षाका विविध पक्षहरुमा पार्ने प्रतिकुल प्रभाव र असरको सुक्ष्म अध्ययन विश्लेषण गर्न पनि निर्देशन दिएका छन् । र, विकसित परिस्थितिबारे स्पष्ट अवधारणा, रणनीति र कार्य योजना निर्माण गर्न समेत निर्देशन दिएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार