२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

विश्व हिन्दु महासंघ भन्छ

नेपाल – भारत सीमा बिबाद : “आपसी वार्ता तथा छलफलबाट बिबाद मिलाऔँ”

'धार्मिक, सांस्कृतिक र आत्मीय सम्बन्ध नटुटाऔँ'

आइतवार , आषाढ ७, २०७७

 


काठमाडौँ, असार । विश्व हिन्दु महासंघले नेपाल र भारत दुवै देशले आपसी वार्ता तथा छलफलबाट बिबाद मिलाउन आग्रह गरेको छ । महासंघले एक बिज्ञप्ति प्रकाशित गरी परापूर्वकालदेखि स्वतन्त्र रहँदै आएको हाम्रो देश नेपालमा कहिले पनि विदेशी झण्डा फहराएको छैन र नेपाल अधिराज्यको एकीकरणदेखि नै आफ्ना निकटतम छिमेकी तथा टाढाका मित्रहरूसँग हामीले सधैं समदूरीको सन्तुलित कूटनीति अपनाउँदै आएको बताएको छ । 
महासंघले आफ्नो बिज्ञप्तिमा भनेको छ, साँध–सीमाना जोडिएका देशहरूका बीचमा सीमा विवाद हुनु स्वभाविक हो । सीमा विवादलाई अनावश्यक रूपमा व्याख्या गरी यसबाट सम्बन्धित मित्र राष्ट्रहरुसँग आँच आउने अभिव्यक्तिले हाम्रो धर्म, संस्कृति, प्रथा, परम्परा र आर्थिक, सामाजिक, मूल्यमान्यता, रीतिरिवाज, जीवनशैली धार्मिक तथा आध्यात्मिक एकतामा समेत खलल पुग्नसक्ने भएको हुनाले यस्तो विवादलाई कुटनीतिक तरिकाले टुंगो लगाउन नेपाल र भारत दुवै तयार हुनुपर्दछ ।
महासंघका महासचिव अस्मिता भण्डारीद्धारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ, समय–समयमा नेपाली नेतृत्वले गरेका सन्धि, सम्झौता सद्भाव र मित्रतालाई ख्याल गर्दै पशुपतिनाथदेखि गोरखनाथ, विश्वनाथ हुँदै तिरुपतिसम्म, डोलेश्वर–केदारनाथ, लुम्बिनी– बोधगया, जनकपुर – अयोध्यासम्मको तथा शंकराचार्यका चारै मठहरूको नेपाल र भारतसँग संसारभरिका ॐकार परिवारको अविछिन्न धार्मिक तथा आध्यात्मिक एकता रहेको बताएको छ ।
अतः यस्तो आत्मिक भावनात्मक तथा प्रगाढ सम्बन्धलाई अक्षुण राख्ने कार्यमा भारतले वार्ताको सहज माध्यमबाट अगाडि बढ्न र बढाउनका निम्ति उपयुक्त समय र परिस्थितिको निर्माण गरोस् भन्ने हाम्रो चाहना रहेको जनाएको छ ।
हाल लिम्पियाधुरा, लिपुलेक र कालापानी सीमा विवादका कारण नेपाल–भारत पारस्परिक सम्बन्ध तथा धार्मिक आध्यात्मिक एकतामा आँच आउन नदिन दुवै सरकारबीच समझदारी कायम गरी समन्वायात्मक रूपमा भूमिका निर्वाह गरी अगाडि बढ्न अनुरोध गर्दछांै बिज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार