नेपालगञ्ज, असार । कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन शुरु गरेर सिमाना बन्द गरिएयता चैत ११ गतेदेखि हालसम्म नेपालगञ्जको जमुनाह नाका हुँदै साढे ५७ हजार नेपालीहरू स्वदेश फर्किएका छन् ।
सोही अवधिमा नेपालबाट भारत फर्किने भारतीयहरूको सङ्ख्या २५ हजार ८७६ जना रहेको यहाँस्थित नेपाल भारत सिमानामा रहेको ईलाका प्रहरी कार्यालय, जमुनाहाले जनाएको छ । स्वदेश फर्किनेहरूमा भारतका विभिन्न सहरहरूमा रोजगारीका लागि गएका कर्णाली प्रदेश र प्रदेश पाँचका अधिकांश बासिन्दा रहेको प्रहरीले जनाएको छ ।
लकडाउन शुरु गरिएको दिन गत चैत ११ गतेदेखि असार ६ गते बेलुकीसम्म नेपालगञ्जस्थित जमुनाहा नाकाबाट ५७ हजार ४५९ नेपाली भित्रिएको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी प्रमुख विष्णु गिरीले बताए ।
प्रमुख गिरीका अनुसार सबैभन्दा धेरै जेठ महिनामा ४३ हजार ८३८ जना नेपालीहरू यो नाका भएर स्वदेश भित्रिएका छन् । त्योभन्दा अघि चैत महिनाको १९ दिनमा भित्रिनेको सङ्ख्या ११ हजार ९०७ जना रहेको थियो ।जमुनाहा प्रहरीका अनुसार असार १ देखि ६ गतेसम्म एक हजार ७१४ जना नेपालीहरू भित्रिएका छन् ।
असारको महिनामा नेपाल फर्किनेहरू निकै घटेको जनाउँदै जमुनाह प्रहरी प्रमुख गिरीले अहिले आएर दैनिक तीन सयको हाराहारीमा मात्र नेपालीहरू फर्किरहेको बतार् ।
भारतमा उद्योग कलकारखाना र होटलहरू बन्द भएपछि नेपालीहरूलाई फिर्ता पठाउन शुरु गरिएकोले जेठ महिनामा एकैपटक धेरैजना आएपछि सो समयमा सिमानामा फर्किनेहरूको चाप अत्याधिक बढेको थियो ।