काठमाडौं, असार । आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सातवटै प्रदेश सरकारले बजेट ल्याएका छन् । सबै प्रदेश सरकारले ल्याएको बजेटको योगफल २ खर्ब ६४ अर्ब २० करोड ५४ लाख छ । चालु आर्थिक वर्षमा सात प्रदेशमा २ खर्ब ५९ अर्ब ६० करोडको बजेट आएको थियो ।
प्रदेशहरुको बजेटहरुको हिसाव गर्दा कुल १ खर्ब १३ अर्ब ४४ करोड ५१ लाख चालुतर्फ विनियोजन भएको छ । १ खर्ब ३९ अर्ब ४८ करोड २७ लाख अर्ब विकास बजेटको हिस्सा छ वित्तीय हस्तान्तरण र वित्तीय व्यवस्थालगायतका लागि ११ अर्ब २७ करोड ७६ लाख विनियोजन भएको छ ।
प्रदेशहरुले आफ्नो मुख्य स्रोत संघ सरकारबाट प्राप्त हुने सर्शत, समपुरक विशेष र वित्तीय समानीकरण लगायतको वित्त हस्तान्तरण अनुदान र राजस्व बाँडफाँटबाट प्राप्त हुने रकमलाई बनाएका छन् । प्रदेशहरुले राजस्व परिचालनबाट पनि चालु आर्थिक वर्षकै हाराहारीमा असुलीको लक्ष्य राखेका छन् ।
आगामी वर्षका लागि प्रदेश ३ ले सबैभन्दा ठूलो आकारको बजेट ल्याएको छ भने कर्णाली सरकारले सबैभन्दा सानो । प्रदेशहरुले बजेटमा अपुग हुने रकम संघ सरकार र विदेशी दाताबाट लिने नीति लिएका छन् ।
बागमती र सुदुरपश्चिम सरकारले बजेटको आकार चालु आर्थिक वर्षको भन्दा सामान्य रुपमा बढाएका छन् भने अन्य प्रदेशको बजेट सामान्य घटेको छ ।
अधिकांश प्रदेशहरुले कोभिड–१९ को नियन्त्रण, रोकथाम र प्रभाव न्युनीकरणमा खर्चने भएका छन् । कृषि, रोजगारी र सिप प्रवद्र्धनमा पनि जोड दिइएको छ ।