काठमाडौं, जेठ । नेपालमा यसबषर्काे मनसुन भित्रिएको छ । पानी पर्ने क्रम अबद बढ्ने हुँदा सतर्कता अपनाउन र पूर्व तयारीमा लाग्न जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
पूर्वी नेपालबाट भित्रिएको मनसुन विस्तारै देशभर फैलिँदै जाने छ । मौसमविद समिर श्रेष्ठले सञ्चारकमीर्लाइ भने, ‘अहिले मनसुन पूर्वी भागमा छ । पूर्वबाट पश्चिम सर्ने क्रममा छ । सामान्यता ५ देखि ७ दिनभित्र मनसुन देशभर फैलिन्छ ।’
गत वर्ष नेपालमा १० दिन ढिलो अर्थात् ५ असार (२० जुन) मा मनसुन भित्रिएर असोज २५ मा बाहिरिएको थियो । नेपालबाट मनसुन बाहिरिने सामान्य मिति भनेको २३ सेप्टेम्बर हो ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका भूभागमा अहिले पश्चिमी वायुको प्रभावले बदली र वर्षाको अवस्था छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा शनिबार पनि पानी परेको थियो । त्यहाँ आइतबार पनि बदलीको अवस्था छ । पूर्वी भूभागमा पनि अधिकांश स्थानमा बदली रहेको मौसमविद श्रेष्ठले बताए ।
यस वर्षको मनसुनमा नेपालमा सरदर पानी पर्ने मौसमविद श्रेष्ठ बताउँछन् । सामान्यतया सरदर वर्षा भन्नाले कुनै स्थान विशेषको लामो समय अर्थात् ३० वर्षको अवधिमा भएको औसत वर्षालाई बुझिन्छ ।
सरदर वर्षाको ९० प्रतिशतदेखि ११० प्रतिशतसम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने सोभन्दा कम र बढी वर्षा भएमा क्रमशः न्यून वा अधिक वर्षा भएको मानिन्छ ।
बंगालको खाडीमा विकसित अंपुन चक्रवातका कारण नेपालमा मनसुन करिब एक हप्ता ढिलो भित्रिने अनुमान यसअघि मौसमविदले गरेका थिए । तर लगत्तै अरब सागरमा अर्को चक्रवात निसर्ग विकसित भएपछि भने नेपालमा मनसुन समयमै भित्रिनेमा मौसमविद विश्वस्त थिए ।