काठमाडौँ, जेठ । लामाे समय बन्द रहेकाे शेयर बजार सुरक्षाको उपाय अपनाएर खोल्न अर्थमन्त्री डा. युवराज खतिवडाले निर्देशन दिँदै बजार बन्द गर्न नहुने बताएका छ ।
पुँजी बजारको नियमन तथा सुपरीवेक्षण गर्ने प्रमुख जिम्मेवारी बोकेको नेपाल धितोपत्र बोर्डको २८औँ वर्ष प्रवेशका अवसरमा राजधानीमा वेबिनारमार्फत गरिएको समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले भने, “लामो समय लकडाउन भए पनि बजार लामो समय बन्द गर्न मिल्दैन, बजार खुलेको दिन कसरी अघि बढ्ने भन्ने योजना आवश्यक छ, त्यसै अनुसार अघि बढौँ । ”
अहिले तत्कालका लागि सेयर बजारमा समस्या आएको भए पनि यो अल्पकालीन हुने भन्दै उहाँले कोरोनासँग लड्दै आफ्ना सबै क्रियाकलाप अघि बढ्नु पर्नेतर्फ पनि सचेत गराए ।
सरकारले दोस्रो बजारको कारोबारलाई पूर्ण रूपमा विद्युतीय प्रविधिमा आधारित बनाउने, पुँजी बजारमा संस्थागत लगानी अभिवृद्धि गर्न स्टक डिलर सञ्चालनमा ल्याउने, पुँजी बजारको दायरा विस्तार गरी ऋणपत्रको दोस्रो बजारको कारोबार सुरु गर्ने, वस्तु विनिमय बजार सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था मिलाउने, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडको संरचनात्मक सुधार गर्नेलगायतका नीति लिएको उनले बताए ।
पछिल्लो समय धितोपत्र बजार निकै चुनौतीपूर्ण बनेको, सेयर बजारमा ऋणपत्रको कारोबार बढाउनुपर्ने आवश्यकता रहेको भन्दै सरकारी ऋणपत्र बजारमा लैजान सक्नेगरी तयारी गरिएको र आगामी दिनमा औद्योगिक क्षेत्रको ऋणपत्र आउन सकेमा ऋणपत्र बजार पनि विकसित हुने उल्लेख गरे ।
स्टक डिलर आएपछि बजारमा अस्वाभाविक रूपमा हुने उतार चढाव कम हुने भन्दै उनले यसका लागि कानुन निर्माणलगायतका काम भइरहेको र स्टक डिलर आएपछि बजारको उचार चढाव नआउने बताए ।
पुँजी बजारलाई करमा प्रोत्साहन दिने र सहजै कर तिर्नसक्ने स्थिति बनाउन आवश्यक रहेको उल्लेख गर्दे धितोपत्र बोर्ड सशक्त रूपमा अघि बढ्नुपर्ने र आन्तरिक पुँजी परिचालनको माध्यमबाट दीर्घकालीन पुँजी निर्माणको यो आधारलाई प्रभावकारी बनाउनुपर्ने उल्लेख गरे ।
धितोपत्र तथा वस्तु विनिमय बजारको सुदृढ एवं विश्वसनीय व्यवस्था गरी देशभर छरिएर रहेको बचत तथा वैदेशिक पुँजीलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्नका लागि अनुकूल वातावरण तयारी गर्न बोर्डको भूमिका सशक्त एवं प्रभावकारी हुनुपर्ने उनले बताए ।