लम्की, जेठ । भारतका विभिन्न शहर कामका लागि गएका र भारतमै लामो समय बन्दाबन्दीमा परेका नेपालीलाई खान बस्नको समस्या भएपछि जेठको देखि हजारौँको सङ्ख्यामा नेपाल भित्रिएका छन् ।
साेही क्रममा अाइतबार कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफन्टा नाकाबाट चारहजार ९४५ नेपाली नेपाल भित्रिए । ४५३ भारतीय नागरिक उक्त नाकाबाट बाहिरिएका छन् ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार आइतबार गड्डाचौकी नाकाबाट ५१५ नेपाली भित्रिए भने १६३ भारतीय बाहिरिएका छन् । उक्त नाकाबाट प्रबेश गर्नेको सङ्ख्या भने घट्दै गएको छ ।
त्यसैगरी, कैलालीको गौरीफन्टा नाकाबाट भित्रिनेको सङ्ख्या शनिबारको तुलनामा थोरै घटेको छ । सशस्त्र प्रहरी कार्यालय ३४ नम्बर वाहिनी कैलालीका अनुसार उक्त नाकाबाट चारहजार ४३० नेपाली नागरिक भित्रिएका छन् भने २९० भारतीय नागरिक बाहिरिएका छन् ।
योसँगै सुदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर जेठ २ यता करिब ९५ हजार नेपाली नागरिक नेपाल भित्रिएका छन् भने बाहिरिनेको सङ्ख्या १२ हजार बढी पुगेको छ ।
जेठ शुरुदेखि खुला भएको गौरीफन्टा नाकाबाट हालसम्म भित्रिनेको सङ्ख्या ७० हजार बढी पुगेको छ भने बैतडीको झुलाघाटबाट करिब दुइ हजार भित्रिएका छन् । त्यसैगरी कञ्चनपुरको गड्डाचौकी नाकाबाट हालसम्म भित्रिनेको सङ्ख्या करिब २३ हजार पुगेको जनाइएको छ ।