काठमाडौं, जेठ । अरब सागरमा विकसित निसर्ग नामको सामुद्रिक आँधी अर्थात् चक्रवातको प्रभाव नेपालमा बढ्दै गएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार नेपालमा उक्त चक्रवातको अप्रत्यक्ष प्रभावले हिजै (बुधबार) बाट नेपालका विभिन्न स्थानमा वर्षा भइरहेको छ भने त्यो क्रम आज (बिहीबार) पनि जारी रहनेछ।
आज दिउँसो विशेषगरी पश्चिमी क्षेत्रमा वर्षा हुने सम्भावना देखिएको उनले जानकारी दिए। रातिदेखि भने मध्य र पूर्वी क्षेत्रमा पनि वर्षा हुने उनले बताए।
माैसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ: देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै उच्च हिमाली भेगका केही स्थानमा हिमपातको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन हुन अनुरोध छ।
माैसमविद् पाैडेलका अनुसार निसर्ग चक्रवातको प्रभावले हिजै (बुधबार) देखि देशभरको मौसम बदली भएको छ भने अहिले (बिहीबार बिहान) पनि बदली नै छ।
सुदूरपश्चिम, कर्णाली, गण्डकी, ५ नम्बर प्रदेशमा अहिले मौसम पूर्ण (घाम नलागेको, पूरै आकाश बादलले ढोकेको) बदली छ र केही स्थानमा हल्का वर्षा पनि भइरहेको छ। वागमती, १ र २ नम्बर प्रदेशमा भने अहिले मौसम सामान्य (अलि अलि घाम पनि देखिने) बदली भएको छ।
मौसमविद् पौडेलका अनुसार मंगलबार अरब सागरमा विकास भएको निसर्ग चक्रवात हिजो (बुधबार) दिउँसोदेखि भारतका महाराष्ट्र राज्यका केही क्षेत्रका जमिनमा प्रवेश गरिसकेको छ।