काठमाडौं, जेठ । भारतको हरियाणाबाट फर्केका पर्साको ३४ वर्षे पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर ३ झौवा गुठी स्थित रामप्रित रामस्वरुप चौरसिया माध्यमिक विद्यालयको क्वारेन्टिनमा बस्दै आएका ती व्यक्तिमा संक्रमण भएको गाउँपालिकाका स्वास्थ्य संयोजक नरेश चौहानले जानकारी दिए ।
ती व्यक्ति भारतको हरियाणामा कपडाको सिलाई कटाईको काम गर्दै आएको चौहानले बताए । उनी जेठ १४ गते भारतबाट वीरगञ्ज रक्सौल नाका भएर नेपाल भित्रिएका थिए । १६ गते स्वाव संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।
वीरगञ्जको नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको चौहानले बताए।
संक्रमण पुष्टि भएसँगै ती पुरुषलाई उपचारको लागि नारायणी अस्पताल मातहत रहेको कोरोना भाइरस विशेष अस्थायी अस्पताल गण्डकमा भर्ना गरिएको गाउँपालिकाका निम्ति प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले जानकारी दिए ।