२०८३, आश्विन १८ गते

आइतवार, आश्विन १८ गते २०८३

जापानिज इन्सेफलाइटिसविरुद्धको खोप पहिलो दिन अभियान

मंगलवार , आश्विन ६, २०८३

भद्रपुर (झापा), असोज । जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरोविरुद्धको खोप अभियानको पहिलो दिन झापामा २१ हजार ७४६ जनाले खोप लगाएका छन् । स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासका अनुसार जिल्लाका नौ स्थानीय तहमा आजदेखि अभियान सुरु भएको हो ।

उहाँका अनुसार, पहिलो दिन खोप लगाउनेमा ३० देखि ६० वर्ष उमेर समूहका १५ हजार ९०५ जना र ६० वर्षमाथिका पाँच हजार ८४१ जना छन् । जिल्लाका १५ वटै स्थानीय तहमा असोज १५ गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत ३० वर्षमाथिका चार लाख ८५ हजार ५५ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ ।

प्रमुख दासले पहिलो दिनको खोप अभियान उत्साहजनक रूपमा अघि बढेको बताउनुभयो । लक्षित समूहका सबै नागरिकलाई खोपको पहुँचमा ल्याउने गरी स्थानीय तह र स्वास्थ्य संस्थासँगको समन्वयमा अभियानलाई निरन्तरता दिइने उहाँले जानकारी दिनुभयो ।

झापामा हालसम्म १३ जनामा जेई सङ्क्रमण पुष्टि भएकामा सात जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । मृत्यु भएका कसैले पनि जेईविरुद्धको खोप नलगाएको पाइएको प्रमुख दासले बताउनुभयो । जेईविरुद्धको खोप अभियानका लागि जिल्लाका १३१ वडामा ९०० खोप केन्द्र स्थापना गरी करिब ५०० स्वास्थ्यकर्मी, ६११ महिला स्वास्थ्य स्वयंसेविका र तीन हजारभन्दा बढी स्वयंसेवक परिचालन गरिएको छ ।रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार