२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

राष्ट्रसङ्घीय महासभा  : ' प्रधानमन्त्री शाहले असोज ८ मा सम्बोधन गर्ने '

शुक्रवार , भाद्र २६, २०८३

 

काठमाडौँ, भदौ ।

प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई आगामी असोज ८ गते सम्बोधन गर्ने भएका छन ।

उक्त महासभाको उच्चस्तरीय सामान्य बहस’ आगामी असोज ६ देखि १२ गतेसम्म संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा सञ्चालन हुनेछ ।

महासभाको सामान्य बहसमा प्रधानमन्त्री शाहले असोज ८ गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस पटकको महासभाको नारा विश्वास पुनः स्थापना, रूपान्तरणको व्यवस्थापनः सबैका लागि परिणाममुखी संयुक्त राष्ट्रसङ्घ रहेको छ ।

संयुक्त राष्ट्रसङ्घबाट प्राप्त जानकारीअनुसार हालसम्म उक्त महासभामा ८१ मुलुकका राष्ट्रप्रमुख र नेपालसहित ५० मुलुकका सरकार प्रमुखहरु सहभागी हुनुहुनेछ ।

मन्त्रालयका सचिव अमृतबहादुर राईले नेपालमा गत वर्ष भएको जेनजी आन्दोलन, त्यसपछि भएको सफल निर्वाचन र सोमार्फत प्राप्त जनादेशसहित गठन भएको वर्तमान सरकारका प्राथमिकतालगायतका विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्न ८१औँ महासभा महत्वपूर्ण अवसर हुने बताए ।

सो विषयमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले अन्तर्राष्ट्रिय सहयोग एवं सद्भावको निरन्तरता र बढोत्तरीका लागि उच्चस्तरबाटै आह्वान गर्नसमेत यो महासभा महत्वपूर्ण अवसरका रूपमा रहेको उल्लेख गरे ।

यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको विनाशकारी बाढीका कारण नेपालले अपूरणीय क्षति भोग्नुपरेको छ । यसले नेपाल जलवायु सङ्कटको दृष्टिले जोखिममा रहेको पुनः पुष्टि गरेको छ ।  रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार