२०८३, श्रावण १५ गते

शुक्रवार, श्रावण १५ गते २०८३

मधेश प्रदेश सरकार : ' गठबन्धनले निरन्तरता पाउने '

कांग्रेस र एमालेबीच मधेश प्रदेशमा राजनीतिक समीकरणलाई कायम राख्ने सहमति

बिहिवार , आषाढ ३२, २०८३

 

काठमाडाैँ, असार ।

मधेश प्रदेशमा तीन दलको गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय गरिएको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेताहरूको संयुक्त बैठकले वर्तमान गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो ।

 

बैठकले नेपाली कांग्रेसका संसदीय दलका नेता तथा मुख्यमन्त्री कृष्णप्रसाद यादव, एमालेका संसदीय दलका नेता सरोजकुमार यादव र नेकपाका संसदीय दलका नेता एवं अर्थमन्त्री युवराज भट्टराईको नेतृत्वमा रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको जनाएको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री तथा नेकपाका संसदीय दलका नेता भट्टराईले अन्य प्रदेशमा कांग्रेस र एमालेबिचको सहकार्य अन्त्य भए पनि मधेश प्रदेशमा यही राजनीतिक समीकरणलाई कायम राख्ने सहमति भएको बताए । 

उनले मधेश प्रदेशमा तीन दलबीचको सहकार्यलाई निरन्तरता दिने निर्णय भएको उल्लेख गर्दै एमालेसँगको सहकार्य नटुट्ने जानकारी दिए । 

उनका अनुसार एमाले सरकारबाट बाहिरिए मधेशकेन्द्रित दलको समर्थन लिएर सरकार टिकाउनुपर्ने अवस्था आउने भएकाले वर्तमान गठबन्धनलाई निरन्तरता दिने निष्कर्षमा दलहरू पुगेका हुन् ।

एमाले संसदीय दलका नेता यादवले तीन दलको सहकार्यबाट प्रदेशको बजेट पारित भएको बताउँदै आगामी दिनमा पनि यही सहकार्यलाई निरन्तरता दिँदै अघि बढ्ने बताए ।  

उनले अन्य प्रदेशमा बनेका वा भत्किएका गठबन्धनभन्दा मधेश प्रदेशको राजनीतिक अवस्था फरक रहेको उल्लेख गर्दै प्रदेशको स्थायित्व, समृद्धि र विकासलाई केन्द्रमा राखेर तीन दलबिच एकताका साथ अघि बढ्ने निर्णय गरिएको जानकारी दिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार