काठमाडौँ, असार ।
काठमाडौँ हुँदै सर्लाही र रौतहट भएर बग्ने बागमती नदीमा सोमबार यो वर्षकै सबैभन्दा ठुलो बाढी आएको छ ।
नुनथरस्थित बागमती नदीमा अवस्थित पधेरादोभान जल मापन केन्द्रमा सोमबार मध्यान्ह १२ बजेको मापनअनुसार बागमती नदीको जलसतह यो वर्षकै सबैभन्दा धेरै ३.९० मिटर मापन भएको छ ।
सोमबार अपरान्ह ४ बजे भने जलसतह घटेर ३.३० मिटर मापन भएको जल तथा मौसम विज्ञान विभागको पधेरादोभान जलमाापन केन्द्रले जनाएको छ ।
सोमबार दिउँसोदेखि पानी पर्न रोकिएपछि बागमती नदीमा पानीको सतह पुनः घट्न थालेको हो ।
हालसम्म बाढीले खतराको तह पार नगरे पनि सोमबार साँझतिबारट काठमाडौँलगायत पहाडी क्षेत्रतिर पुनः पानी परिरहेको हुँदा जुनसुकै बेला फेरि बाढी बढ्न सक्ने भएकाले महेन्द्र राजमार्गदेखि दक्षिणतर्फको तटीय क्षेत्रका वासिन्दालाई सचेत र सजग रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
बागमती, लखन्देही र मनुष्माराखोलामा बाढी आउनासाथ जिल्लाको दक्षिणवर्ती बरहथवा, बसबरिया, धनकौल, रामनगर, बलरा, गोडैता, विष्णु, कौडेना लगायतका आधा दर्जन बढी पालिकामा कटान तथा डुबानको समस्या सुरु हुने गरेको छ ।
बर्खायाम सुरु भइ झरी पर्न थालेसँगै बाढी तथा डुबानको समस्याबाट वर्सेनि पीडित हुँदैआएका स्थानीय चिन्तित बन्न थालेका छन् ।