दमक, असार ।
गृहमन्त्री सुधन गुरुङले नेपालको पूर्वी नाकाको अवस्थाका विषयमा अनुगमन तथा निरीक्षण गरेका छन । पूर्वी नाका पुगेर उनले भन्सार कार्यालयलगायत सुरक्षा संयन्त्रको ग्राउन्ड टेस्ट गरेका हुन ।
गृहमन्त्री गुरुङले मेची पुल तथा दशगजा क्षेत्रमा अनुगमन गर्दै यसलाई व्यवस्थित गर्न आवश्यक कदम चालिने बताए ।
आइतबार झापा आएका उनले सोमबार नेपालको पूर्वी नाका मेचीनगरको काँकडभिट्टा, मेची पुल, इँटाभट्टा जोरसिमललगायत सीमावर्ती क्षेत्रको स्थलगत निरीक्षण गरे ।
गृहमन्त्री गुरुङसँग झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्का, सशस्त्र प्रहरी बल २ नं. गण हेड क्वाटरका सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशी, राष्ट्रिय अनुसन्धान विभाग झापाका प्रमुख उपअनुसन्धान निर्देशक उमेश पाण्डेले भेट गर्दै यहाँको वस्तुस्थितिबारे जानकारी गराएको बताइएको छ ।
अनुगमनका क्रममा गृहमन्त्रीले चोरीतस्करी नियन्त्रणलाई पहिलो प्राथमिकतामा राख्न, भन्सार राजस्व चुहावट रोक्न, सीमामा निगरानी बढाउन तथा सीमाक्षेत्रमा खटिने प्रहरीको व्यवस्थापन थप चुस्त बनाउन निर्देशन दिए ।
सुरक्षा संयन्त्रलाई परिणाममुखी ढङ्गले परिचालन गर्न उनले जोड दिए। मेची भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेले भन्सारको वस्तुस्थितिबारे जानकारी गराएपछि गृहमन्त्री गुरुङले गुनासो नआउने गरी काम गर्न निर्देशन दिए ।
उनले पुरानै ढङ्गले भन्सारलगायतका कार्यालय चल्न नसक्ने उल्लेख गर्दै परिणाममुखी काम गर्न आग्रह गरे ।
चेकपोस्ट हटाउन निर्देशन
अनुगमनकै क्रममा मेचीनगर–७ को जोरसिमलस्थित अस्थायी सशस्त्र प्रहरीको चेकपोस्ट तत्काल हटाउन गृहमन्त्री गुरुङले निर्देशन दिएका छन । “प्रहरीलाई यसरी बिजोग रूपमा र अनावश्यक रूपमा राख्नु हुँदैन,” उनले भने ।
उक्त चेकपोस्ट हटाएर सुरक्षा, स्रोतसाधन र आवश्यकता बमोजिम पुनः व्यवस्थापन गर्न सम्बन्धित निकायलाई उनले निर्देशन दिए । स्थानीय निकाय र वडासँग समन्वय गरेर आवश्यक ठाउँमा यस्ता चेकपोस्ट राख्नुपर्ने गृहमन्त्री गुरुङको भनाइ थियो ।
शौचालय लगायतका कुनै पनि पूर्वाधार नदेखेपछि उनले सो चेकपोस्ट सोमबारै हटाउन कडा निर्देशन दिएका छन ।
“म केही जान्दिनँ आजै अहिल्यै उठाउनुहोस्,” उनले भने । यहाँबाट चेकपोस्ट हटाएर सीमानाका कडा गर्न उनले निर्देशन दिए।
यसैबीच काँकडभिट्टा बजार अनुगमन गरिरहँदा गृहमन्त्री गुरुङसहित जिल्लाका सबै सुरक्षाका प्रमुखलाई देखेपछि एक भारतीय सवारी साधन भाग्न खोजेको थियो ।
उक्त गाडी केही मिटर पर लगेर लुकाउने प्रयास भएको थियो । तत्कालै जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख बसुन्धरा खड्काले उक्त गाडी नियन्त्रणमा लिएर कारबाही प्रक्रिया सुरु गर्न निर्देशन दिएकी छन ।
गृहमन्त्री गुरुङले झापाका प्रमुख जिल्ला अधिकारी गेलालसमक्ष यस विषयमा चासो पनि राखेका थिए ।सिडिओ साब हामीले यस्ता कुरामा कमजोरी गर्न भएन र यस्ता साना साना कुरामा झुक्न भएन,” उनले भने, “आज जे भयो र देखियो अब यस्तो नदेखियोस् ।” गेलाललाई गुरुङले सार्वजनिक रूपमा नै निर्देशन दिए ।
जनप्रतिनिधि र स्थानीयसँग छलफल
गृहमन्त्री गुरुङले मेचीनगरकी उपमेयर मीना उप्रेतीलगायतका स्थानीयसँग स्थानीय सुरक्षा अवस्था, सीमा व्यवस्थापन, तस्करी नियन्त्रण र नागरिकका गुनासाबारे छलफल गरेका छन ।
सीमावर्ती बस्तीका स्थानीयले भोग्नु परेका पीडा र राज्यको उपस्थितिबारे उनले चासो राखेका थिए । बालिकाले न्याय नपाएको गुनासो गृहमन्त्री गुरुङसमक्ष एक परिवारले १५ वर्षीय बालिकालाई बलात्कार गर्ने व्यक्तिलाई कारबाही नभएको र अदालतले सफाइ दिएको भन्दै गुनासो गरेका थिए ।
उनले पीडितले राखेको कुरा बुझेर तत्काल त्यस विषयमा बुझ्ने बताए । उनले पीडित परिवारको नम्बर पनि राखे । हामी हार भएर अहिले तपाईंलाई भेट्न आएका हौँ, पीडित बालिकाकी एक आफन्तले गृहमन्त्रीसमक्ष भने ।
घाइतेको उपचार बन्दोबस्त गर्ने
प्रतिबद्धता यसैगरी गृहमन्त्री गुरुङले जेनजी आन्दोलनका क्रममा घाइते झापा बुद्धशान्तिका अङ्कित शर्माको उपचारमा कमी हुन नदिने बताए । शर्मा अहिले पनि उपचाररत छन । शर्माको घरमै गृहमन्त्री गुरुङ पुगेका हुन ।
घाइते परिवार तथा स्थानीय जेनजी आन्दोलनको मर्म र भावनालाई बुझेर अगाडि बढ्नका लागि गृहमन्त्री गुरुङलाई आग्रह गरे । गाेरखापत्रबाट