काठमाडौँ, असार ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले आफ्नो सय दिनमा जनताले महसुस हुनेगरि काम गर्न नसकेको टिप्पणी गरेका छन ।
दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गेपुल उद्घाटन गरी शुक्रबार काठमाडौँ फर्किएसँगै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ उक्त प्रतिक्रिया दिए ।
अध्यक्ष राईले सरकारले केही गर्ने कोसिस गरेपनि जनताले महसुस हुनेगरि परिणाम दिन नसकेको दाबी गरे । उनले महँगी धेरै बढेकाले त्यसको नियन्त्रण गर्न आफूले सरकारलाई सुझाव दिँदै आएको पनि स्मरण गराए ।
सरकारले सय दिनमा गरेका कामको जनताले महसुस गरेजस्तो आफ्नो अनुभुति नरहेको अध्यक्ष राईको भनाइ छ ।
उनले भने,“ कोसिस उहाँहरूले गर्नुभएको हो । तर रिजल्ट चाहिँ जनतालाई त्यति महसुस भएको छैन ।रिजल्ट भएको महसुस हुनुपर्दछ । महङ्गी धेरै भयो ।अब महँगी नियन्त्रण गर्नुपर्दछ भन्ने हाम्रो सल्लाह सुझाव रहेको थियो ।म दार्चुला हुँदा देखेको थिएँ त्यता आमसञ्चार छैन । अब हेर्न पनि पाइँदैन । पेट्रोलको भाउ अलि घटायो रे भन्ने छ ।”
अध्यक्ष राईले सरकारले पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य घटाएको भन्दै सरकारको उक्त निर्णयको समर्थन गरे ।
उनले दार्चुला जिल्ला विकट रहेकाले त्यहाँको विकासमा सहभागी हुन पाउँदा आफू खुशी भएको पनि बताए ।