काठमाडौं, असार ।
प्रतिनिधिसभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । शुक्रबार दिउँसो १ बजेका लागि तय गरिएको बैठक विशेष कारणले प्रतिनिधिसभा नियमावली २०८३ को नियम ६ को उपनियम ३ वमोजिम स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।
सभामुख डोलप्रसाद -डीपी) अर्यालले आगामी बैठक शनिबार -भोलि) ११ बजे बस्ने गरी तय गरेको संसद सचिवालयले जनाएको छ ।
यसअघि बिहीबार तय गरिएको बैठक विशेष कारण देखाउँदै सूचना टाँसेर स्थगित गरिएको थियो । सत्तारुढ रास्वपाका अधिकांश सांसदहरू महाधिवेशनका लागि चितवनमा रहेकाले सदन प्रभावित भएको छ ।
आजको बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘महालेखापरीक्षकको ६२औं वार्षिक प्रतिवेदन, २०८३’ पेश गर्ने कार्यक्रम रहेको थियो ।
बैठकमा सार्वजनिक खरिद -दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण -मनि लाउन्डरिङ) निवारण -तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी -पहिलो संशोधन) विधेयक, २०८३ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र विधेयक प्रस्तुत गरिने संसद सचिवालयले कार्यसूची सार्वजनिक गरेको थियो ।
त्यस्तै आर्थिक विधेयक, २०८३ माथि संशोधनसहित छलफल हुने तथा प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि पेश गर्ने कार्यक्रम थियो ।
बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि दफाबार छलफल, संशोधनहरूमाथि निर्णय तथा उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि अर्थमन्त्रीले प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको थियो ।