२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

रास्वपा महाधिबेशन

६४ जिल्ला अधिवेशन सम्पन्न : ' नेता व्यवस्थापनमा चुनौती '

२ प्रदेश र १३ जिल्ला अधिवेशन स्थगित

बिहिवार , जेठ २८, २०८३

 

काठमाडौं, जेठ ।

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती र मधेस प्रदेशसहित १३ जिल्लामा जारी अधिवेशन स्थगित गरेको छ। अधिवेशनका क्रममा विभिन्न विवाद देखिएपछि ती स्थानमा निर्वाचन तथा नेतृत्व चयन प्रक्रिया अस्थायी रूपमा रोकिएको हो।

रास्वपाका केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीका अनुसार बागमती प्रदेशको अधिवेशन रद्द नभई केही समयका लागि स्थगन गरिएको हो।

प्राविधिक र व्यवस्थापकीय कारणले निर्वाचन प्रक्रियालाई अस्थायी रूपमा स्थगन गर्नु परेको हो, निर्वाचन आयोग प्रमुख केसीले भने, मतदाता नामावलीमा देखिएका केही त्रुटि सच्याउन, समायोजन सूचीमा देखिएका उजुरी एवं विवादको उचित सम्बोधन गर्न र प्रदेश निर्वाचन समितिमा आवश्यक जनशक्ति थप गरी निर्वाचन प्रक्रियालाई सहज बनाउनुपर्ने देखिएकाले निर्वाचन प्रक्रियालाई अस्थायी रूपमा स्थगन गरिएको हो।

बागमती प्रदेशमा मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गरिने भएको छ। त्यस्तै करिब ४०० जनाको समायोजन सूचीमा देखिएका उजुरी र विवादहरूको उचित सम्बोधन गरिने रास्वपाले जनाएको छ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख केसीका अनुसार, प्राविधिक र व्यवस्थापकीय कार्य सम्पन्न हुनासाथ स्थगित भएको अधिवेशन सुचारु हुनेछ।

निर्वाचन प्रक्रियाको नयाँ मिति र त्यससम्बन्धी थप विवरण मतदान सुरु हुनुभन्दा कम्तीमा २४ घण्टा अगावै जानकारी गराइनेछ। केन्द्रीय निर्वाचन आयोगले व्यवस्थापकीय समस्या देखाए पनि कतिपय जिल्लामा उम्मेदवार विवाद र संगठनात्मक असन्तुष्टि रहेको नेताहरूको दाबी छ। बागमती प्रदेशको सभापतिका लागि अच्युतम लामिछाने (नुवाकोट), उत्सव अर्याल (मकवानपुर), हरिबहादुर खत्री (रामेछाप) र कृष्णमान शाक्य (धादिङ) प्रतिस्पर्धामा छन्।

यसैगरी रास्वपाले जेठ २८ गतेका लागि तय गरेको मधेश प्रदेश अधिवेशन पनि स्थगित भएको जनाएको छ। अधिवेशनको निष्पक्ष, पारदर्शी, विश्वसनीय तथा विधिसम्मत सञ्चालन गर्न आवश्यक देखिएकाले मधेस प्रदेश अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधिहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको केसीले बताए।

६४ जिल्ला अधिवेशन सम्पन्न

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा अधिवेशन सम्पन्न भएको छ। मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका सबै जिल्लाको अधिवेशन सम्पन्न हुन सकेको छैन।

वडा र पालिकाको अधिवेशन सम्पन्न गरेको रास्वपाको ६४ जिल्लाको अधिवेशन सम्पन्न भएको छ। मधेस प्रदेशका ८ जिल्लामध्ये पर्साबाहेक अन्य जिल्लामा नेतृत्व चयन प्रक्रियामा विवाद भएको छ। मधेसका महोत्तरी, रौतहट, सिरहा, धनुषा, सर्लाही, सप्तरी र बारा जिल्लाको अधिवेशन स्थगित भएको छ।

जिल्ला अधिवेशन नै हुन नसकेपछि मधेस प्रदेशको अधिवेशन पनि स्थगित भएको हो। गण्डकी प्रदेशको मनाङ र मुस्ताङ तथा कर्णाली प्रदेशको हुम्ला, मुगु र डोल्पा जिल्लाको अधिवेशन हुन सकेको छैन।

त्यस्तै बागमतीको सिन्धुपाल्चोक जिल्लाको अधिवेशन पनि स्थगित भएको छ।पहिलो महाधिवेशनको तयारीमा रहेको रास्वपालाई नेतारकार्यकर्ता व्यवस्थापनमा समस्या भएको छ। कोशी प्रदेशको अधिवेशन बुधबारदेखि सुरु भएको छ।

गण्डकीको जेठ २९, लुम्बिनीको जेठ ३०, कर्णालीको जेठ ३१ र सुदूरपश्चिम प्रदेशको अधिवेशन असार १ गतेका लागि तोकिएको छ। रास्वपाले पार्टी स्थापनाको ४ वर्षमा पहिलो महाधिवेशन चितवनमा गर्न लागेको छ।

आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुने पहिलो महाधिवेशनमा देशभरबाट कम्तीमा २ हजार ५०० प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ। महाधिवेशनको निर्वाचन प्रक्रियामा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोगबारे पनि छलफल भइरहेको रास्वपाले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार