काठमाडौँ, जेठ ।
यस वर्षको मनसुन भित्रने समय आउन अब चार दिन मात्र बाँकी छ । अघिल्लो वर्षदेखि मनसुन भित्रने समय केही दिन पर सर्दै जुन १३ तारिखमा स्थानान्तरण भएको हो । सोही अनुसार आउँदो एक साताभित्र मनसुन भित्रने वातावरण बन्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार भारतको केरलामा जुन ४ तारिखमा मनसुनको न्यूनचापीय रेखा प्रवेश गरिसकेको छ । त्यहाँबाट नेपालको पूर्वी भेगसम्म आइपुग्न करिब १० दिन लाग्छ ।
मौसमविद् रोजन लामिछानेले भने, ' बङ्गालको खाडीबाट अगाडि बढेको मनसुन केरलाबाट अगाडि बढ्ने क्रममा रहेको छ, नेपालको पूर्वी भू–भागबाट प्रवेश गर्न सक्छ । सुरुवातमा पूर्वको थोरै भू–भागमा मनसुन फैलने सम्भावना रहेको उनले बताए ।
मनसुनको नेपाल आगमनबारे यतिखेर मौसमविद्हरूको टिमले एक मिनेट पनि नछाडी अध्ययन गरिरहेका छन ।
मौसमविद् लामिछानेले सुनाए, “केही दिनदेखि लगातार हामी सामूहिक तथा अन्तर्राष्ट्रिय छलफल गरिरहेका छौँ, कसरी आउँछ र कत्तिको प्रभावकारी आउँछ भन्नेमा हाम्रो ध्यान केन्द्रित छ ।”
कसरी आउँछ मनसुन
हरेक वर्ष वसन्त ऋतुपछि वर्षा ऋतु आउँछ । यो ऋतुहरूको फेरबदलका क्रममा जमिन र समुद्रको सतह दुवैतिर हावाको दबाब बढ्छ ।
मौसमविद् सञ्जीव अधिकारीका अनुसार गर्मीको समयमा समुद्रबाट जमिनतिर पानीको कणसहितको हावा बहन्छ भने जाडोको समयमा जमिनको तातो हावा समुद्रतिर जान्छ । यही समग्र प्रक्रियालाई नै मनसुन भनिन्छ । मनसुन भित्रने भनेको चाहिँ पानीका कणसहितको जलवाष्पयुक्त हावा जमिनतिर बहनु हो ।
उनले भने, “गर्मीमा जमिनभन्दा समुद्रको हावाको दबाब क्षेत्र बढी बन्छ, त्यो तातिएको हावा जमिनतर्फ सर्छ, त्यो प्रक्रियालाई नै मनसुन भित्रने भनिएको हो । नेपालमा वर्षभरिमा पर्ने वर्षाको ८० प्रतिशत वर्षा मनसुनकै समयमा पर्छ ।
नेपालमा आउने मनसुनी हावाको सिर्जना सुरुवातमा पृथ्वीको दक्षिण गोलाद्र्धस्थित दक्षिण अफ्रिकी मुलुक माडागास्कर आसपासमा हुन्छ । त्यहाँको वातावरणीय परिवर्तनसँगै बङ्गालको खाडीमा पनि मनसुनी वायुको दबाब बढ्छ । त्यहाँबाट त्यो जलवाष्प मनसुनी वायु बनेर भारतको केरला, मध्यप्रदेश हुँदै नेपालको पूर्वी क्षेत्रबाट भित्रने गर्छ ।
जेठको चौथो साता प्रवेश हुने मनसुन असोजको तेस्रो सातामा बाहिरिने गरेको छ । मौसमविद् अधिकारीका अनुसार नेपालको मनसुनमा वर्षा गराउने अर्को प्रणाली अरब सागरमा विकास हुन्छ । त्यहाँको जलवाष्पयुक्त वायुले नेपालको मध्य र पश्चिम भू- भागमा मनसुनी वर्षा गराउने गर्छ ।
नेपालमा भित्रने मनसुनी न्यूनचापीय रेखाको सरदर स्थान भारतको गङ्गा किनारआसपास हो ।त्यहाँबाट त्यो रेखा जलवाष्पयुक्त वायुसहित नेपालको दक्षिण तराई नजिक सर्दा नेपालमा वर्षा बढी हुने गरेको छ ।
कृषि मौसमविद् रामेश्वर रिमालले भने मनसुन भित्रने एकिन नभएको बताए । उनले भने, ' मनसुन भित्रनै नेपालमा ढिला होला जस्तो छ, उता किसानले ब्याड हालिसके, खेती कसरी गर्ने भनेर हामीले भन्न सकेका छैनौँ ।
मनसुन भित्रेपछि पनि अर्को पानी चाहिने बेला वर्षा भएन भने धान डढ्छ वा अतिवृष्टि हुँदा डुब्छ । सुक्खा र डुबान सहनेखालको धान लगाउनु भनेर प्रारम्भिक रूपमा भनेका छौँ । सरकारलाई सुझाव र समग्र कृषिको अनुमान मनसुन भित्रिएपछि तय गर्न सकिने उनले बताए ।
अलनिनो प्रभाव
विश्व मौसम सङ्गठन र क्षेत्रीय मनसुन फोरमले यस वर्षको मनसुनमा कम वर्षा हुने अनुमान एक महिनाअघि नै गरिसकेको छ । जसले दक्षिण एसियाली मुलुकमा कम वर्षासँगै वर्षाको बदलिँदो प्रवृत्तिसमेत भित्र्याउन सक्ने भएकाले सचेत रहन विश्व स्वास्थ्य सङ्गठनले अनुरोध गरेको छ ।
माल्दिभ्सको मालेमा अघिल्लो महिना आयोजित मनसुन फोरमले दक्षिण एसियाका नौ राष्ट्रमा हुने मनसुनको विश्लेषण गरेको थियो । जसमा अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, म्यानमार, नेपाल, पाकिस्तान र श्रीलङ्काका मौसम सङ्गठनसहित पूर्वानुमान विश्लेषण भएको थियो ।
हिन्द महासागर र अरब सागरमा अहिले तटस्थ अवस्थामा रहेको अलनिनो -पानी कम पार्ने प्रणाली) प्रणालीले नेपालमा मनसुन भित्र्याउन खासै अवरोध गरेको अवस्था छैन । तर मनसुन भित्रिएको एक महिना लगत्तै अलनिनो प्रणाली बलियो हुने अवस्था देखिएको मौसमविद् रोजन लामिछानेले बताए।
अलनिनो तटस्थ हुँदा लानिनो सक्रिय रहन्छ । जसले मनसुनमा वर्षा गराउन मद्दत गर्छ । उनले भने, 'तर जुलाई र अगस्टमा लानिनोलाई विस्थापित गर्दै अलनिनो अधिक बलियो हुने अनुमान विश्वका मौसमविद्ले गरेका छन , जुन नेपालको मनसुनी वर्षाका लागि राम्रो सङ्केत हैन ।
विश्व मौसम सङ्गठनका अनुसार जुनदेखि सेप्टेम्बरसम्म चल्ने मनसुनको चक्रले दक्षिण एसियाको धेरैजसो भू- भागको जीवनलाई सिञ्चित गर्छ । यस मनसुनमा पूर्वानुमान गरिएको औसतभन्दा कम मनसुनी वर्षाले ती सबै चक्रमा नकारात्मक असर पार्ने सम्भावना रहेको छ ।
विश्व मौसम सङ्गठनको पूर्वानुमानको पुनर्विश्लेषण गर्दै संयुक्त राष्ट्रसङ्घले यस वर्ष विश्वव्यापी तापक्रम थप बढ्ने र त्यसले चरम मौसमी घटना निम्त्याउन सक्ने भएकाले त्यसको प्रतिकार गर्न हरेक मुलुकलाई गत साता अपिलसमेत गरेको छ । गाेरखापत्रबाट