काठमाडौं, जेठ ।
श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह -बालेन) सँग आफूले बोलेका कुराको प्रमाण देखाउन माग गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद साम्पाङले प्रधानमन्त्री शाह तत्काल संसदमा उपस्थित हुनुपर्ने र नेपालले भारतको सीमा कहाँ-कहाँ मिचेको रहेछु भन्ने कुरा पुष्टि गर्नुपर्ने बताए।
प्रधानमन्त्रीले संसदबाटै नेपालले भारतको सीमा मिचेको भन्दै दिएको अभिव्यक्ति अविलम्ब सच्याउनुपर्ने आफूहरूको माग रहेको उनले स्पष्ट पारे।
सांसद साम्पाङले भने, ' प्रधानमन्त्रीले कि त प्रमाण देखाउनु पर्यो, होइन भने आफ्नो गल्ती स्वीकार गर्दै उक्त अभिव्यक्तिप्रति माफी माग्नुपर्छ। यसका लागि प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्छ।'
संसदमा यतिका दिनदेखि विरोध जारी रहँदा समेत प्रधानमन्त्रीले एउटा वक्तव्यसम्म ननिकालेको र सदनमा उपस्थित हुने छाँटकाँट समेत नदेखाएको भन्दै उनले आपत्ति जनाए।
संसद्मा यस्तो गम्भीर विषयमा गतिरोध अन्त्य नभई सभामुखले कार्यसूचीमा प्रवेश गरेर छलफल अगाडि बढाउन खोज्नु स्वीकार्य नहुने साम्पाङको दाबी छ।