काठमाडौँ,जेठ ।आज देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू-भागमा आंशिक बदली रहनेछ।
कर्णाली र सुदूरपश्चिमलगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। यसका साथै कोशी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ भने पहाडी भू-भागमा आंशिक बदली रहनेछ। तराई भू-भागमा भने रातिको मौसम मुख्यतया सफा रहनेछ।
यसैगरी राति सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू-भागलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।