२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

समावेशिताको अभ्यास : ' कांग्रेस सबैभन्दा बढी अगाडि '

शनिवार , जेठ १६, २०८३

 

काठमाडौँ, जेठ ।

नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणाले अन्य राजनीतिक दलको तुलनामा नेपाली कांग्रेस सबैभन्दा बढी समावेशी रहेको दाबी गरेका छन । नेपाल थारू सङ्घको प्रथम महाधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले पार्टीको नीति र संरचनाले थारू समुदायलाई उच्च प्राथमिकता दिएको बताएका हुन ।

नेपाल थारू सङ्घलाई कांग्रेसको सबैभन्दा कान्छो भ्रातृ सङ्गठनका रूपमा चिनाउँदै सहमहामन्त्री राणाले छोटो अवधिमै सबै जिल्ला अधिवेशनहरू सफलतापूर्वक सम्पन्न हुनु गौरवको विषय भएको उल्लेख गरे।

विसं २०७९ माघ ४ गते अध्यक्षको मनोनयन भएपश्चात विभिन्न प्रतिकूलताका बाबजुद सङ्घले साङ्गठनिक स्वरूप ग्रहण गरेको र अहिले ऐतिहासिक महाधिवेशनको चरणमा आइपुगेको उनले जानकारी दिए ।

राणाले अन्य राष्ट्रिय दलहरूको तुलनामा कांग्रेसले थारू समुदायका नेताहरूलाई नेतृत्वको मुख्य तहमा स्थापित गरेको दाबी गरे । उनले भने, ' बहुदलीय व्यवस्था आउनुअघि नै कांग्रेसले परशुनारायण चौधरीलाई महामन्त्री बनाएको थियो ।

पार्टीको केन्द्रीय उपाध्यक्षमा विजयकुमार गच्छदार, सहमहामन्त्रीमा उमाकान्त चौधरी र हाल योगेन्द्र चौधरी छन । यो समावेशिता अन्य दलहरूमा देखिँदैन ।'

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा थारू समुदायकै डिल्लीबहादुर चौधरीलाई नियुक्त गरेर कांग्रेसले समावेशिताको ज्वलन्त उदाहरण पेस गरेको उनको भनाइ थियो ।

सहमहामन्त्री राणाले पार्टीभित्र थारू समुदायको जनसङ्ख्याको अनुपात र उनीहरूको सक्रियताका आधारमा अझ बढी अधिकार र अवसरका लागि थारू नेताहरू आफैँ सक्षम हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार