२०८३, श्रावण १५ गते

शुक्रवार, श्रावण १५ गते २०८३

जलवायु परिवर्तनक असर

अध्ययन भन्छ : 'विश्वका नदीमा अक्सिजन घट्दै '

आइतवार , जेठ ३, २०८३

 

 

बेइजिङ, जेठ ।

नयाँ अध्ययनले जलवायु परिवर्तनका कारण विश्वभरका नदीमा अक्सिजनको मात्रा निरन्तर घटिरहेको देखाएको छ, जसले ताजा पानीका लागि गम्भीर जोखिम सिर्जना गरेको छ । यो अध्ययन साइन्स एडभान्सेस नामक वैज्ञानिक जर्नलमा प्रकाशित भएको हो ।

अनुसन्धान चिनियाँ विज्ञान प्रतिष्ठान अन्तर्गत नान्जिङ भूगोल तथा लिम्नोलोजी संस्थानका अनुसन्धानकर्ताको नेतृत्वमा गरिएको हो । अनुसन्धान टोलीले सन् १९८५ देखि २०२३ सम्मको करिब ४० वर्षको तथ्याङ्क विश्लेषण गरेको थियो ।

अध्ययनमा विश्वभरका २१ हजारभन्दा बढी नदी खण्डको अक्सिजन स्तर मापन गर्न उन्नत कम्प्युटर आधारित विश्लेषण विधि प्रयोग गरिएको थियो ।

अध्ययन अनुसार नदीमा अक्सिजनको मात्रा औसतमा प्रति दशक ०.०४५ मिलिग्राम प्रतिलिटरका दरले घटिरहेको छ । अध्ययन गरिएका करिब ८० प्रतिशत नदीमा अक्सिजन कमी देखिएको छ ।

विशेष गरी उष्णकटिबन्धीय क्षेत्रका नदी सबैभन्दा बढी प्रभावित भएका छन् । यसअघि उच्च अक्षांशका क्षेत्र बढी प्रभावित हुने अनुमान गरिएको भए पनि अध्ययनले उष्णकटिबन्धीय नदी पहिले नै कम अक्सिजनयुक्त भएकाले अझ छिटो अक्सिजन गुमाइरहेको देखाएको छ ।

यसले अत्यन्त कम अक्सिजन हुने अवस्था निम्त्याउन सक्छ, जसका कारण माछा तथा अन्य जलचर प्राणीको मृत्यु हुन सक्छ । अनुसन्धान कर्ताका अनुसार पानीमा अक्सिजन घुल्ने क्षमता घट्नु नै मुख्य कारण हो, जसले कुल अक्सिजन ह्रासको करिब ६३ प्रतिशत हिस्सा ओगटेको छ ।

तातो पानीले चिसो पानीको तुलनामा कम अक्सिजन धारण गर्न सक्छ । त्यस्तै, तापक्रम, प्रकाश र पानीको बहावसँग सम्बन्धित प्रक्रियामा आएको परिवर्तनले थप १२ प्रतिशत अक्सिजन कमी गराएको अध्ययनले जनाएको छ ।

अत्यधिक गर्मीका लहरले पनि नदीको अक्सिजन ह्रासमा ठूलो भूमिका खेलेका छन् । अध्ययनले विश्वव्यापी नदी अक्सिजन कमीको करिब २३ प्रतिशत हिस्सा यस्ता गर्मीका लहरसँग सम्बन्धित रहेको देखाएको छ ।

अनुसन्धानमा अत्यन्त कम वा अत्यन्त बढी पानीको बहावले केही हदसम्म अक्सिजन कमीको गति घटाउन सक्ने पनि उल्लेख गरिएको छ ।

सामान्य अवस्थाको तुलनामा कम बहाव हुँदा अक्सिजन ह्रासको दर १९ प्रतिशतले घटेको पाइएको छ भने बढी बहाव हुँदा ७ प्रतिशतले कमी आएको छ ।

अनुसन्धानकर्ताले घट्दो अक्सिजन स्तरले नदीको जैविक विविधतामा गम्भीर असर पार्ने चेतावनी दिएका छन् । अक्सिजन कम हुँदा माछा तथा अन्य जीव बाँच्न सङ्घर्ष गर्नुपर्ने अवस्था सिर्जना हुन्छ ।

उनीहरूले विशेष गरी उष्णकटिबन्धीय क्षेत्रका देशमा नीति निर्मातालाई प्रभावकारी रणनीति अपनाउन आग्रह गरेका छन् ।

नान्जिङ भूगोल तथा लिम्नोलोजी संस्थानका अनुसन्धान कर्ता शी कुनले भने,“यो अध्ययनले विश्वभरका नदीमा भइरहेको अक्सिजन ह्रासलाई बुझ्न र न्यूनीकरण गर्न महत्वपूर्ण आधार प्रदान गरेको छ ।सिन्ह्वा

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार