२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नेपाली कांग्रेस

सभापति थापाले भने : ' नागरिक अधिकार र आत्मसम्मानमा  सम्झौता गर्दैनाै '

आइतवार , जेठ ३, २०८३

 

काठमाडौँ, जेठ ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकको आत्मसम्मान र मौलिक अधिकारको सन्दर्भमा कसैसँग कुनै सम्झौता नगर्ने बताएका छन ।

प्रजातान्त्रिक विचार समाजको साधारणसभामा बोल्दै उनले संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार दिएको स्मरण गराउँदै नागरिक अधिकारको सवालमा कांग्रेस सधैँ स्पष्ट रूपमा उभिने बताए। सरकारले नागरिक अधिकारलाई कुण्ठित गरेर सुकुमवासी बस्तीमा डोजर चलाएको आरोप उनले लगाए।

नेता वा सरकार कोही पनि संविधानभन्दा माथि हुन नसक्ने उल्लेख गर्दै उनले सुशासनका नाममा नागरिक अधिकारलाई कमजोर पार्ने अभ्यास स्वीकार्य नहुने स्पष्ट पारे। सरकार पनि संवैधानिक सीमाभन्दा माथि जान नसक्ने भन्दै उनले लोकतन्त्रमा परिणामसँगै नागरिक अधिकारको सुरक्षा सुनिश्चित हुनुपर्नेमा जोड दिए।

कानुनी परिधिभित्र रहेर गरिने सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि क्षेत्रका सकारात्मक काममा भने कांग्रेसको पूर्ण समर्थन रहने उनले स्पष्ट पारे।

सभापति थापाले भने, ' हामी सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारी र कृषिका क्षेत्रमा हिजो गर्न नसकेका तथा चुकेका कुरा आजको सरकारले गर्दा ताली बजाएर समर्थन गर्छौँ। यी कुरा आवश्यक हुन् र कतिपय हिजो हाम्रै पालामा सुरुवात भएका विषय पनि होलान्। तर, के यी काम नागरिकका अधिकारलाई थाती राखेर गर्ने हो ?

हामीले खोजेको शासन पद्धति वा संरचना यस्तो होइन। यो बाटोबाट गन्तव्यमा पुग्न सकिँदैन भन्ने हाम्रो विश्वास हो। कुनै पनि संस्थाभन्दा ठुलो नेता हुँदैन र कुनै पनि सरकार आलोचनाभन्दा माथि हुँदैन। जतिसुकै बहुमत प्राप्त गरे पनि सरकार संवैधानिक परिधिभन्दा माथि जान सक्दैन।

लोकतन्त्रबाट हामीलाई परिणामसँगै नागरिकका अधिकारको सुरक्षा पनि चाहिन्छ। सुकुमवासी बस्तीमा डोजर चलाइएको सन्दर्भमा मैले बुझेको यही हो। संविधान निर्माणका क्रममा हामीले मौलिक हकको पहिलो नम्बरमै सम्मानपूर्वक बाँच्न पाउने हक राखेका छौँ।

ती नागरिक मेरा मतदाता हुन् कि होइनन्, मलाई थाहा छैन र मतलब पनि छैन। नेपाली कांग्रेसलाई त्यसको सरोकार हुनु पनि हुँदैन। उनीहरूले कांग्रेसलाई कहिल्यै मत नहाल्न पनि पाउनुहुन्छ तर नागरिकको अधिकारको कुरामा पार्टी सधैँ सही ठाउँमा उभिनुपर्छ।

जब नागरिकको अधिकार र आत्मसम्मानको कुरा आउँछ, यसमा कांग्रेसले कुनै पनि सम्झौता गर्दैन। कानुनी परिधिभित्र बसेर गरिने सुशासनका प्रयासमा कांग्रेसको शतप्रतिशत साथ रहन्छ।

उनले लोकतन्त्र, संविधान र नागरिक अधिकारको रक्षाका लागि कांग्रेसले सडक र सदनबाट सधैँ सङ्घर्ष गरिरहने बताए। हाल लोकतन्त्रका लागि आन्दोलन गर्नेहरूलाई अपराधीकरण गर्न खोजिएको आरोप उनले लगाए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार