काठमाडौँ, वैशाख ।
नवनियुक्त सङ्घीय संसद् सचिवालयका सचिव प्रकाश अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन । बिहीबार सिंहदरबारस्थित संसद् सचिवालयमा आयोजित समारोहमा उनले आफ्नो पदको शपथ लिएका हुन ।
उनलाई सभामुख डोल प्रसाद अर्यालले शपथ गराएका हुन । राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्यालको सिफारिसमा अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गरेका थिए ।
संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका–३ का स्थायी बासिन्दा अधिकारी निजामती सेवाको उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुन ।
सभामुख अर्यालले हर्कराज राईलाई सचिव पदबाट मुक्त गर्दै रिक्त स्थानमा अधिकारीको नाम सिफारिस गरेका थिए ।
संवैधानिक तथा कानुनी व्यवस्था अनुसार सङ्घीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रियसभाका सचिवलाई सम्बन्धित सदनका सभामुख वा अध्यक्षको सिफारिसमा राष्ट्रपतिबाट नियुक्ति तथा पदमुक्त गर्ने व्यवस्था रहेको छ ।