काठमाडौं, बैशाख ।
मौसम विभागले आगामी ३ दिन देशभरका ९ जिल्लामा तातो लहर चल्ने जनाएको छ। विभागले आज जारी गरेको विशेष बुलेटिनमा कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, बर्दिया, बाँके, दाङ, कपिलवस्तु र रुपन्देही तातो लहर चल्ने जनाएको हो।
विभागले अछाम, सुर्खेत, दैलेख, सल्यान, रोल्पा, प्युठान, अर्घाखाँची, पाल्पा, परासी, नवलपुर, चितवन, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सिन्धुली र उदयपुर अद्यावधिक रहने जनाएको छ।
विभागले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका थोरै स्थानहरूमा हिजोदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जनाएको छ ।
साथै आज मधेश प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराईका केही स्थानहरूमा ३८ डिग्री सेल्सियस आसपास मापन गरिएको छ।
देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार आगामी ३ दिन पनि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी तथा मधेश प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेशका तराईका केही स्थानहरूमा ३८ डिग्री सेल्सियस वा सो भन्दा बढी भई अत्यधिक गर्मीको सम्भावना देखिएको विभागले जनाएको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भू-भागहरूमा आगामी ३ दिनसम्म मध्यम तातो लहरको सम्भावना रहेको हुनाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
तातो हावा तथा तातो लहरबाट हुने थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्छ।
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घर भित्र चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने , चर्को घाममा बाहिर ननिस्किने, हल्का लुगा -सुतीको कपडा ) लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित -पटक-पटक) पानी तथा झोल पदार्थ -जुस, सर्बत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रहन आवश्यक रहेको विभागले जनाएको छ।