२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नेपाली कांग्रेस

' मेरोसहित सबैको सम्पत्ति - कानुनसम्मत छानबिन गरिनुपर्छ '

कार्की आयोगको प्रतिवेदन अपूर्ण र बद्नियतपूर्ण : गगन थापा

सोमवार , बैशाख ७, २०८३

 

मकवानपुर, बैशाख ।

कांग्रेस सभापति गगन थापाले जेन-जी आन्दोलनका विषयमा गौरीबहादुर कार्की नेतृत्वको आयोगले सार्वजनिक गरेको प्रतिवेदन अपूर्ण र बद्नीयतपूर्ण रहेको बताएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजनामा सोमबार हेटौंडामा भएको बागमती प्रदेशस्तरीय निर्वाचन समिक्षा कार्यक्रममा उनले कार्की आयोगको प्रतिवेदनले भदौ २४ गतेको बारेमा केही नबोलेको उल्लेख गर्दै उक्त प्रतिवेदन बदनीयतपूर्ण र बायस्ड रहेको धारणा राखेका हुन् ।

राज्यको निकायले चाहँदा जो कोहीलाई अनुसन्धान गर्न पाउनुपर्छ । हाम्रो पार्टीका नेतालाई अनुसन्धान नगर भनेर कांग्रेसले भन्दैन, थापाले भने, ' व्यक्तिले नियम मान्नुपर्छ भने राज्यले पनि मान्नुपर्छ ।' उनले सार्वजनिक ओहोदामा बसेको सबैको सम्पत्ति छानबिन हुनुपर्ने बताए ।

२०४६ पछि देशको प्रधानमन्त्री र मन्त्री बनेकाहरूसहित उच्च ओहोदामा पुगेका सबैको सम्पत्तिको छानबिन गर्नुपर्छ । म पनि मन्त्री भएको छु, मेरो पनि छानबिन गरियोस् । उनले थपे, तर यो छानबिन कानुनसम्मत हुनुपर्छ । जसको गल्ती भएको छ, जसले दुरुपयोग गरेको छ उसको सम्पत्ति जफत गरेर राष्ट्रियकरण गर्नुपर्छ ।

मध्यपूर्वमा तनाव भएकोले नेपालमा पेट्रेलियम पदार्थको भाउ बढेको कांग्रेसले राम्रोसँग बुझेको भन्दै उनले हचुवाको भरमा आन्दोलन नगर्ने जानकारी दिए । करको दर घटाएर पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने उनको सुझाव छ ।

कांग्रेस विशेष महाधिवेशनको सन्दर्भमा अदालतले फैसला गरिसकेको भन्दै सभापति थापाले अब पार्टीभित्र बृहत्तर एकता गराउँदै १५ औं महाधिवेशन सफल पार्न लागिपर्ने बताए ।

सभापतिको हैसियतमा सबै नेताहरूसँग संवाद गरिरहेको छु, सबैलाई मिलाएर लैजानेछु, उनले भने, ' पार्टीभित्र बसेकाहरू मात्रै मिलेर हुँदैन । सबैलाई मिलाएर लैजाने प्रयासमा लागिपरेको छु ।

समीक्षा कार्यक्रममा बागमती प्रदेशबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूसहित जिल्ला सभापतिहरूले पार्टी हारको कारणसहित आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार