२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

पाकिस्तानको मध्यस्थता

अमेरिका र इरानबीच युद्धविराम : ' ऐतिहासिक वार्ता इस्लामावादमा '

इरानले आगामी दुई हप्ताका लागि  ' होर्मुज स्ट्रेट' खुला गरिने

बुधवार , चैत्र २५, २०८२

 

काठमाडौँ, चैत ।

पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरान दुई साताका लागि युद्धविराम गर्न सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सभ्यता नै मेटाउने धम्की दिएको केही घण्टाभित्रै पाकिस्तानको उच्चस्तरीय कूटनीतिक प्रयासपछि यो महत्त्वपूर्ण सहमति सम्भव भएको हो।

राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ' ट्रुथ सोसलु मार्फत इरानले तत्कालका लागि होर्मुज स्ट्रेट खोल्ने सर्तमा आफू बम विस्फोट र सैन्य आक्रमण स्थगन गर्न सहमत भएको जानकारी दिएका छन्।

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ र सेना प्रमुख फिल्ड मार्शल असिम मुनिरको अनुरोधमा यो निर्णय लिइएको उल्लेख गर्दै ट्रम्पले भनेका छन्, 'हामीले इरानबाट १० बुँदे प्रस्ताव प्राप्त गरेका छौँ।दुई देशबीचका सबै विवादास्पद मुद्दामा सहमति भएको छ। सम्झौतालाई अन्तिम रूप दिन अबको दुई हप्ता आवश्यक पर्नेछ।'

अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पनि युद्धविरामको पुस्टि गरेको छ। इरानले आगामी दुई हप्ताका लागि  ' होर्मुज स्ट्रेट' खुला गरिने जानकारी दिँदै आफ्ना नागरिकहरूलाई राष्ट्रिय एकता कायम राख्न र यसलाई 'विजय' को रूपमा मनाउन आग्रह गरेको छ।इरानका सर्वोच्च नेता आयतोल्लाह मोज्तबा खामेनीले यो सम्झौतालाई अनुमोदन गरिसकेका छन् ।  

अब स्थायी शान्तिका लागि थप वार्ता पाकिस्तानको राजधानी इस्लामावादमा हुने इरानी विज्ञप्तिमा उल्लेख छ। यसैबीच, इजरायल पनि दुई हप्ताको युद्धविरामका लागि सहमत भएको छ। ह्वाइट हाउसका अनुसार यस अवधिमा इजरायलले पनि इरानमा कुनै पनि प्रकारको आक्रमण गर्ने छैन।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलको संयुक्त हवाई हमलामा इरानी सर्वोच्च नेता अयातोल्लाह अली खामेनीसहितका शीर्ष नेताहरूको हत्या भएपछि युद्ध चर्किएको थियो। युद्धका क्रममा इरानका प्रभावशाली कमाण्डरहरू अलिरेजा ताङसिरी, माजिद खादेमी र प्रवक्ता अली मोहम्मद नैनी लगायत मारिएका छन्।

इरानले इजरायल र खाडी क्षेत्रका अमेरिकी सैन्य अड्डाहरूमा आक्रमण गरेपछि फैलिएको यो द्वन्द्वमा हालसम्म ५ हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्। अन्नपूणार्बाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार