काठमाडौँ, फागुन । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी गरेको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने, ' पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीको मत परिणाम आइसकेको छ । समानुपातिकतर्फको मतगणना कार्य पनि अन्तिम चरणमा पुगेको छ र सम्भवतः आजै सकिँदैछ ।'
आयोगले आफ्नो तयारी पूरा गरेपछि चैत ५ देखि ७ गतेभित्र राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा निर्वाचनको अन्तिम प्रतिवेदन पेस गर्ने तयारीमा जुटेको छ ।
संवैधानिक प्रावधान र सरकार गठनको प्रक्रिया
नेपालको संविधानको धारा ९३ (१) अनुसार प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ ।
आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा सुरु हुनेछ । संविधानको धारा ७६ बमोजिम राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।
यदि कुनै पनि दलको स्पष्ट बहुमत नभएमा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री नियुक्त गरिने संवैधानिक प्रावधान रहेको छ ।
आयोगले अन्तिम प्रतिवेदन पेस गरेसँगै नयाँ सांसदहरूको शपथ ग्रहण र संसदीय दलको नेता चयनका लागि राजनीतिक दललाई बाटो खुल्नेछ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ १२५ स्थानमा विजय हासिल गरेको छ भने समानुपातिकतर्फ पनि ५० लाखभन्दा बढी मत प्राप्त गरिसकेको छ । दुवैको परिणाम सार्वजनिक हुँदा (रास्वपा) लाई झण्डै दुई तिहाइको बहुमत प्राप्त हुने भएकाले एकल सरकार हुने निश्चित छ । - गोरखापत्र अनलाइन