२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

इरानी सर्वोच्च नेता खामेनी

अमेरिकी गुप्तचरको महिनौं देखिको निगरानीमा थिए

सोमवार , फाल्गुण १८, २०८२

 

अमेरिका, फागुन । अमेरिका र इजरायलको संयुक्त कारबाहीमा मारिएका इरानका सर्वोच्च नेता अयातोल्लाह अलि खामेनी हत्याको पर्दा विस्तारै खुल्न थालेको छ ।अमेरिकी र इजरायली गुप्तचर निकायहरू विशेष गरी (सीआइए ) ले इरानका सर्वोच्च नेता अयातोल्लाह अलि खामेनीलाई महिनौंसम्म गोप्य रूपमा निगरानी गरिरहेका थिए ।

उनीहरूको दैनिक गतिविधि, बस्ने स्थान, भेटघाट गर्ने व्यक्तिहरू, सञ्चारको तरिका र सम्भावित सुरक्षित स्थानबारे सूक्ष्म जानकारी संकलन गरिएको थियो ।

पछिल्ला केही दिनमा, इरानका शीर्ष राजनीतिक तथा सैन्य अधिकारीहरू तेहरानस्थित एउटै कम्पाउण्डभित्र फरक- फरक स्थानमा भेला हुने योजना बनेको सूचना प्राप्त भयो ।

उक्त कम्पाउण्डमा सर्वोच्च नेताको कार्यालय, राष्ट्रपतिको कार्यालय तथा राष्ट्रिय सुरक्षा निकायहरू अवस्थित थिए । खामेनी प्रायः अत्यन्त सतर्क रहने गरे पनि दिउँसोको समयमा आफूलाई कम जोखिममा ठान्ने गरेको एक इजरायली स्रोतले जनाएको छ ।

यस अवसरलाई उपयुक्त ठहर गर्दै प्रारम्भिक रूपमा राति गर्ने भनिएको आक्रमण योजनालाई परिवर्तन गरी दिउँसो सञ्चालन गर्ने निर्णय गरियो ।

इजरायली सेनाका प्रमुख इयाल जमिरले वायुसेनालाई पठाएको सन्देशमा शनिबार बिहान अपरेसन रोअरिङ लायन सुरु हुन्छ भन्दै लक्ष्यमा प्रहार गर्न अनुमति दिएका थिए । शनिबार बिहान करिब ६ बजे (इजरायल समय अनुसार), इजरायली लडाकु विमानहरूले अत्यन्त सटीक हतियार र लामो दूरीका मिसाइल प्रयोग गरी उक्त कम्पाउण्डमा आक्रमण गरे ।

तीनवटै स्थानमा एकै साथ प्रहार गरिएको थियो । केही घण्टापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत खामेनीको मृत्यु भएको घोषणा गरे । इरानका अन्य वरिष्ठ अधिकारीहरू(जस्तै रक्षा मन्त्री, इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्सका कमाण्डरलगायत पनि त्यही क्षेत्रमा उपस्थित रहेको इजरायली गुप्तचरले दाबी गरेको थियो ।

यद्यपि उनीहरू किन त्यस्तो संवेदनशील समयमा एउटै स्थानमा भेला भए भन्ने स्पष्ट छैन र आगामी नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा पनि अन्योल छ । यस घटनाले पछिल्ला महिनाहरूमा इजरायल र अमेरिकाले इरानभित्र आफ्नो गुप्तचर पहुँच कति गहिरो बनाएका थिए भन्ने देखाएको छ।

यसअघि पनि इजरायलले इरानका उच्च सैन्य तथा आणविक अधिकारीहरूलाई लक्षित गरी कारबाही गर्दै आएको थियो, तर सर्वोच्च नेतामाथि प्रत्यक्ष कारबाही गर्ने अवसर भने दुर्लभ थियो । यस अपरेसनअघि अमेरिका र इजरायलबीच हप्तौदेखि योजना बनिरहेको थियो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले फ्लोरिडास्थित मार ए लागोमा भएको भेटमा ट्रम्पलाई इरानले आफ्नो क्षेप्यास्त्र कार्यक्रम अघि बढाइरहेको र आणविक गतिविधि पुनः सुरु गर्ने प्रयास गरिरहेको जानकारी दिएका थिए । त्यसपछि अमेरिकाले मध्यपूर्व क्षेत्रमा दुईवटा विमानवाहक पोतसहित ठूलो सैन्य शक्ति तैनाथ गयो ।

यसैबीच इरानमा व्यापक प्रदर्शनहरू चर्किए, जसलाई सरकारले बल प्रयोग गरेर दबाएको थियो । कूटनीतिक प्रयासहरू समानान्तर रूपमा जारी रहे पनि आणविक सम्झौतामा सहमति जुट्न सकेन । अन्ततः जेनेभामा भएको अन्तिम चरणको वार्तापछि ट्रम्प प्रशासनले सैन्य कारबाही अपरिहार्य ठानेको बताइएको छ ।

टेक्सासतर्फ जाँदै गर्दा ट्रम्पले केही रिपब्लिकन सिनेटरहरूसँग पनि परामर्श गरेका थिए । उनले त्यसबेला हामीले ठूलो निर्णय लिनुपर्छ, सजिलो छैनभनेका थिए । यो कारबाहीपछि क्षेत्रीय स्थायित्व, इरानको सम्भावित प्रतिक्रिया तथा आगामी राजनीतिक अवस्थाबारे व्यापक अनिश्चितता उत्पन्न भएको छ । - सीएननबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार