२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नेपाली कांग्रेस

नेता डा.कोइरालाले भने : ' भाषण होइन,काम गरेर देखाउँछु '

शुक्रवार , फाल्गुण ८, २०८२

 

विराटनगर, फागुन । नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. शेखर कोइराला यतिबेला विराटनगरका भित्री बस्ती र टोलहरूमा पुगेर जनभावना बुझ्न व्यस्त छन।

चुनावी अभियानका क्रममा विराटनगर - ६, ब्रह्मपुरा टोल पुग्नुभएका नेता कोइरालाले विराटनगरको मुख्य क्षेत्रभन्दा नहर पश्चिमको भूभाग विकासमा पछि परेको यथार्थ स्वीकार गर्दै यस क्षेत्रको विकासमा विशेष ध्यान दिने वाचा गरेका छन ।

स्थानीय बासिन्दासँगको भेटघाटमा डा. कोइरालाले भने, विराटनगरको नहर पश्चिम क्षेत्र अझै पनि गाउँ जस्तो देखिन्छ, यहाँको विकासलाई गति दिनु मेरो पहिलो प्राथमिकता हो । उनले विराटनगरका भित्री वडा ६, ५, ४, ११ र १२ को समुचित विकास नै समग्र विराटनगरको विकासको आधार भएको उल्लेख गरे ।

विकासको प्यास मेट्न आफूले ठोस योजना अघि सारेको बताउँदै उनले भने, 'अब भाषण मात्र होइन, काम गरेर देखाउने बेला आएको छ ।'

सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका लागि उनले तत्कालै पहल गर्ने वचन दिए । सुकुम्वासी समस्या समाधानका लागि म दुई - तीन दिनभित्रै सुकुम्वासी आयोगका सदस्यलाई यहाँ पठाउँछु, तपाईंहरूसँगै बसेर समाधानको बाटो खोजिने छ,' कोइरालाले भने ।

सुकुम्वासी टोलमा पुगेर उनले दिएको यो आश्वासनले स्थानीयमा नयाँ आशा जगाएको छ । यस्तै, केशलिया र बुढीखोलाको कटान नियन्त्रणका लागि तटबन्ध निर्माणको प्रक्रिया अघि बढेको जानकारी दिँदै कोइरालाले त्यसमा स्थानीय जनशक्तिलाई नै परिचालन गरिने बताए ।

केशलियामा तटबन्धको डिपिआर भइसकेको छ, बोलपत्र (टेन्डर) भए लगत्तै काम सुरु हुन्छ । त्यहाँ काम गर्ने अवसर अरूले होइन, यसै क्षेत्रका दाजुभाइ दिदीबहिनीले पाउनुहुने छ, उनले थपे । कार्यक्रममा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले स्थानीय मैथिली भाषामा डा. कोइरालाको व्यक्तित्व र विकास प्रतिको लगावको चर्चा गरे ।

कार्कीले भने, डा. शेखर कोइराला तपाईंहरूको दुःखसुखको साथी हुनुहुन्छ, उहाँलाई जिताएर पठाउनु भनेको विराटनगरको भविष्य उज्ज्वल बनाउनु हो ।

डा. कोइरालाले यसअघि शिलान्यास गरिएको अस्पताल र ज्येष्ठ नागरिक भवनलाई पूर्णता दिने अठोट समेत व्यक्त गरे । बजेट अभावले केही ढिलाइ भए पनि अब सो कार्यलाई छिट्टै अघि बढाइने उनको भनाइ थियो ।

चक्रपथ (रिङ रोड) को विस्तार र प्रादेशिक संरचनाको निर्माणले यो क्षेत्रलाई आधुनिक विराटनगरको नयाँ केन्द्र बनाउने उनले दाबी गरे । यस क्षेत्रबाट पाँचौँ पटक निर्वाचनमा उम्मेदवार बन्नुभएका डा. कोइराला यसअघि तीन पटक निर्वाचित भइसकेका छन ।

नेताहरू गाउँटोलमा प्रवेश गरेपछि विस्तारै सुरुवाती माहोलमा केही परिवर्तन देखिन थालेको नेपाली कांग्रेस विराटनगर महानगरपालिका समितिका सभापति दीपक चापागाईँले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार