काठमाडौँ, फागुन । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ - तराई- मधेस द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिएकी छन ।
ललितपुरको खोकनामा धार्मिक-सांस्कृतिक सम्पदा तथा आस्थामा असर पर्ने भन्दै स्थानीय समुदायका तर्फबाट चासो व्यक्त भइरहेको सन्दर्भमा प्रधानमन्त्री कार्कीले सो निर्देशन दिएकी हुन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उनले आयोजनालाई गति दिन वैकल्पिक मार्गको विकल्प अघि सारेकी हुन ।
यसअघि गत माघ १३ गते प्रधानमन्त्री कार्कीले निर्माणाधीन द्रुतमार्गको निरीक्षण भ्रमण गरेकी थिईन । त्यस क्रममा उनले विकास निर्माणका काम गर्दा स्थानीयका सरोकारलाई गम्भीरतापूर्वक लिनुपर्ने बताईन ।
साथै सुरु विन्दु परिवर्तन गरेर भए पनि राष्ट्रिय गौरवको यो आयोजना चाँडो सम्पन्न गर्नुपर्नेमा उनले जोड दिएकी छन ।
प्रधानमन्त्री कार्कीले अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव चौलागाईँ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ, प्रधानसेनापति अशोकराज सिग्देलसहित द्रुतमार्ग आयोजनासँग सम्बन्धित अधिकारी र सचिवलाई बोलाएर छलफल गरेकी थिईन ।
सो क्रममा नेपाली सेनाका तर्फबाट आयोजनाको हालसम्मको प्रगति, समस्या र सरकारसँगको अपेक्षाबारे ब्रिफिङ गरिएको थियो ।