काठमाडौं, फागुन । प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान गर्न १६ दिन बाँकी रहँदा जम्मा ३१ दलले मात्रै निर्वाचन आयोग र कार्यालयहरूमा घोषणापत्र बुझाएका छन् ।
६७ दलले प्रत्यक्षतर्फ निर्वाचनमा भाग लिन दर्ता गरे पनि आधाभन्दा कमले मात्रै घोषणापत्र बुझाएका हुन् । कांग्रेस र एमालेलगायतका ठूला दलले नै घोषणापत्र नबुझाएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए ।
उनका अनुसार हालसम्म बुझाउने ३१ र नबुझाउने ३७ दल छन् । नेकपा, राप्रपा र जसपालगायत दलले यसअघि नै सार्वजनिक गरेर निर्वाचन आयोगमा बुझाएका छन् ।
निर्वाचन आयोगले चुनाव प्रसारप्रसार समय गर्ने समय तालिका अगाडि नै दलहरूले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्न निर्देशन गरेको थियो । तर, उक्त समय पार गरिसके पनि दलहरूले नबुझाएका हुन् ।
एमाले, कांग्रेस, रास्वपालगायतले अझै चुनावी घोषणापत्र सार्वजनिक गरेका छैनन् । रास्वापले करारपत्र भनि प्रतिबद्धतापत्र भने बझाएको छ ।
नबुझाउनेमा एमाले र कांग्रेसले बुधबार सार्वजनिक गर्ने तयारी गरेका छन् । निर्वाचन आयोगले ३ फागुनभित्र चुनावी घोषणापत्र सार्वजनिक गरेर निर्वाचन आयोगमा बुझाउन निर्देशन दिएको थियो ।
एमालेले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा र कांग्रेसले सभापति गगनकुमार थापाको नेतृत्वमा घोषणापत्र बनाइरहेको छ ।