वासिङ्टन, माघ । संयुक्त राज्य अमेरिकामा फैलिएको शक्तिशाली हिउँको आँधीको कारण २४ सयभन्दा बढी उडान रद्द भएको जनाइएको छ ।
उत्तरी क्यारोलिनाको सार्लोट डगलस अन्तर्राष्ट्रिय विमानस्थल कार्यलयले आँधीको कारण शनिबार(आइतबारसम्म १८ सय भन्दा बढी उडान रद्द गर्न बाध्य पारेको बताएको छ ।
यसैबीच हाल रनवे र सडकमा हिउँ सफा गर्न ३०० जनाको सफाइ टोली तैनाथ गरिएको जनाइएको छ ।
यसैबीच, हाट्र्सफिल्ड - ज्याक्सन एटलान्टा अन्तर्राष्ट्रिय विमानस्थलले आइतबार एटलान्टा जाने लगभग ५० वटा उडान बाहेक ६०० भन्दा बढी उडान रद्द गर्ने घोषणा गरेको थियो ।
अमेरिकी मौसम विभागले उत्तर र दक्षिण क्यारोलिनामा भारी हिमपात र तीव्र हावा सहितको तीव्र तटीय आँधीबेहरीको चेतावनी दिएको छ ।
आँधीसँगै आएको शक्तिशाली ध्रुवीय हावाले दक्षिण फ्लोरिडाका केही भागमा तापक्रम घट्ने र पश्चिम भर्जिनियामा तापक्रम(३३ डिग्री सेल्सियसमा पुग्ने अनुमान विभागले गरेको छ । क्युएनए