२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

' भेनेजुएला कारबाहीमा - ' गोप्य हतियार प्रयोग ' : ट्रम्प

रूसी र चिनियाँ सहयोगमा तयार गरिएका उपकरणले बटन थिच्दा कुनै काम गर्न सकेनन्

सोमवार , माघ १२, २०८२

 

वासिङ्टन, माघ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका नेता निकोलस मादुरोलाई नियन्त्रणमा लिने क्रममा अमेरिकाले एक गोप्य हतियार प्रयोग गरेको दाबी गरेका छन ।

सो हतियारका कारण भेनेजुएलाका सैन्य उपकरण काम नगर्ने अवस्थामा पुगेको उनले बताए । एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले उक्त हतियारका कारण भेनेजुएलाले प्रयोग गर्न तयार पारेका क्षेप्यास्त्र र अन्य सैन्य प्रणाली निष्क्रिय बनेको दाबी गरे ।

उनका अनुसार रूसी र चिनियाँ सहयोगमा तयार गरिएका उपकरणले बटन थिच्दा पनि कुनै काम गर्न सकेनन् । यसअघि मादुरोको निवास क्षेत्रमा गरिएको कारबाहीका क्रममा राजधानी काराकासका धेरै स्थानमा बत्ती निभेको ट्रम्पले बताएका थिए, तर त्यसको तरिका खुलाएका थिएनन् ।

राष्ट्रपति ट्रम्पले लागुऔषध तस्कर समूहविरुद्ध सैनिक कारबाहीलाई निरन्तरता दिने सङ्केत पनि गरे । उनका अनुसार यस्तो कारबाही मध्य अमेरिका र मेक्सिकोसम्म पनि फैलिन सक्ने छ ।

हालै अमेरिकाले प्रशान्त महासागर क्षेत्रमा लागुऔषध तस्करीमा संलग्न एक डुङ्गामाथि आक्रमण गरेको थियो । मादुरो नियन्त्रणमा लिएयता यो पहिलो सैन्य कारबाही हो ।

गत सेप्टेम्बरयता क्यारिबियन र प्रशान्त क्षेत्रमा भएका यस्ता कारबाहीमा एक सय सत्र जनाको मृत्यु भइसकेको बताइएको छ । ट्रम्पले भेनेजुएलासँग सम्बन्धित सातवटा तेल बोक्ने जहाज नियन्त्रणमा लिएको दाबी पनि गरे ।

ती जहाज कहाँ राखिएका छन् भन्ने विषयमा भने उनले जानकारी दिन अस्वीकार गरे । अन्तर्वार्तामा उनले भेनेजुएलाका विपक्षी नेतृ मारिया कोरिना माचाडोले आफूलाई प्रदान गरेको नोबेल शान्ति पुरस्कार कहाँ राख्ने भन्ने विषयमा समेत सोचिरहेको बताए ।

यसैबिच, आर्कटिक क्षेत्रको सुरक्षा सम्झौता सम्बन्धी विषयमा डेनमार्क र ग्रिनल्यान्डका नेताले आफ्नो सार्वभौमिकता सम्झौताबाट प्रभावित नहुने स्पष्ट पारेकबा छन । एपी

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार