२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

विश्वभरि सुनको मूल्य बढ्यो : " कारण के - के हुन सक्छन ? "

नेपालमा तोलाकै ३ लाख ९ हजार रुपैयाँ

सोमवार , माघ १२, २०८२

 

क आउन्स सुनको मूल्य पहिलो पटक ५,००० अमेरिकी डलर नाघेसँगै विश्व बजारमा यो बहुमूल्य धातुको मूल्य अहिलेसम्मकै सर्वोच्च बिन्दुमा पुगेको छ। एक आउन्स सुनमा ३१.१०३५ ग्राम अर्थात् २.६६६७ तोला हुन्छ।

ग्रीनल्यान्डको विषयमा संयुक्त राज्य अमेरिका र नेटोबीच तनाव बढ्दा वित्तीय र भूराजनीतिक अन्योल उत्पन्न भएका बेला अहिले सुनको मूल्य अकासिएको हो। नेपालमा सुनको मूल्य सोमवार प्रतितोला ३,०९, हजार रुपैयाँ र चाँदीको ६,७६५ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घ जनाएको छ।

 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अङ्गीकार गरेका व्यापारसम्बन्धी नीतिहरूका कारण पनि बजार चिन्तित देखिन्छ। शनिवार उनले यदि चीनसँग व्यापारिक सहमति गरे क्यानडामाथि थप १०० प्रतिशत भन्सार शुल्क लगाउने चेतावनी दिएका थिए।

सुन र अन्य बहुमूल्य धातुलाई 'सुरक्षित सम्पत्ति' मानिने भएकाले अन्योलका बेला धेरै लगानीकर्ताहरू ती धातु किन्ने गर्छन्।

शुक्रवार चाँदीको मूल्य पहिलो पटक प्रतिआउन्स १०० डलर नाघेको थियो। सन् २०२५ मा सुनको मूल्य ६० प्रतिशतभन्दा बढीले र चाँदीको मूल्य १५० प्रतिशतले बढेको थियो। अहिले पनि मूल्यवृद्धिले निरन्तरता पाएको छ।

 

अहिले सुनको माग किन बढेको हो

अहिले सुनसहितका बहुमूल्य धातुको माग विभिन्न कारणले गर्दा चुलिएको हो।

असामान्य मुद्रास्फीति, कमजोर अमेरिकी डलर, देशका केन्द्रीय ब्याङ्कहरूले किनेकाले र र यूएस फेडरल रिजर्भले यो वर्ष फेरि ब्याजदर घटाउन सक्ने सम्भावना भएकाले पनि सुनको माग विश्वभरि बढेको छ।

युक्रेन युद्ध र गाजा युद्ध अनि अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई पक्राउ गरेकाले पनि सुनको भाउ बढ्न गएको हो। सुनप्रति मानिसको बढी आकर्षण हुनुको एउटा कारण यो धातु त्यति सुलभ नहुने भएकाले हो।

अहिलेसम्म खानीबाट केवल २,१६,२६५ टन सुन मात्र निकालिएको वर्ल्ड गोल्ड काउन्सिल नामक व्यापारिक प्रतिष्ठानले जनाएको छ। त्यति सुनले तीनदेखि चारवटा ओलिम्पिक स्विमिङ पूलमा भर्न पुग्छ।

उक्त परिमाणको सुनमध्ये अधिकांश उत्खनन प्रविधि उन्नत भएपछि र कैयौँ नयाँ भण्डार फेला परेपछि सन् १९५० यता खानीबाट निकालिएको हो।

अमेरिकी भौगोलिक सर्वेक्षण निकाय यूएसजीएसले भूमिगत खानीहरूबाट अझै ६४, हजार टन सुन निकाल्न सकिने अनुमान गरेको छ। आगामी वर्षहरूमा सुनको आपूर्ति स्थिर हुने ठानिएको छ।

'तपाईँसँग सुन छ भने त्यसको सम्बन्ध बन्डमा जस्तो ऋणभारसँग हुँदैन अनि कम्पनीको अवस्थाले निर्धारण गर्ने इक्विटीभन्दा त्यो भिन्न हुन्छ, एबीसी रिफाइनरीका एक वरिष्ठ अधिकारी निकोलस फ्र्यापल भन्छन्।

उनका अनुसार अनिश्चितता फैलिएको बेला सुनमा लगानी गर्नु भनेको जोखिम घटाउनु जस्तै हो।

 

सुन र चाँदीमा लगानी बढ्नुको कारण के हो

गत वर्ष सुनको मूल्यमा अत्यधिक वृद्धि भयो। धेरै लगानीकर्ताहरूले यो धातु किन्न थालेपछि सुनको मूल्य सन् १९७९ यता सबैभन्दा तीव्र गतिमा बढ्यो।

ट्रम्पले लगाएका भन्सार शुल्कका कारण अनि आर्टिफिशल इन्टेलिजन्सका कारण शेअरको मूल्य बढेको हो कि भन्ने डरले गर्दा वित्तबजार चिन्तित हुँदा सुनको मूल्य एकपछि अर्को गर्दै अनेकौँ पटक उच्चबिन्दुमा पुग्यो।

'त्यसको ठूलो कारण चाहिँ अमेरिकी नीतिमा देखा परेको चरम अन्योल हो जस्तो मलाई लाग्छ,' मेटल्स फोकस नामक अनुसन्धान परामर्शदातृसंस्थाका निकोस काभ्लिस भन्छन्।

आर्थिक चिन्ताका कारण सुनको भाउ बढ्न सक्छ। त्यसबाहेक लगानीकर्ताहरूले आफूसँग भएको पुँजीबाट पाउन सक्ने ब्याजदर घट्न सक्ने अवस्था देखे भने पनि सुनको मूल्य चुलिन थाल्छ।

कम ब्याजदर हुनु भनेको आफ्नो बन्डमा आफूले गरेको लगानीबाट कम प्रतिफल पाउनु हो। त्यसैले लगानीकर्ताहरू सुन र चाँदी किन्न थाल्छन्। अमेरिकामा सरकारले यो वर्ष ब्याजदर दुईगुनाले घटाउने ठानिएको छ।

यसको सम्बन्ध ठिक उल्टो छ किनभने 'सरकारी बन्डमो पैसा लगानी गर्दा प्राप्त हुने लाभ चित्तबुझ्दो हुँदैन। त्यसैले मानिसहरू सुनतिर ढल्किन्छन्,' पेपरस्टोनमा अनुसन्धान रणनीतिकारका रूपमा कार्यरत अहमद असिरी भन्छन्।

 

केन्द्रीय ब्याङ्कहरू र सर्वसाधारण मानिसहरू किन सुन किन्छन्

सुन लगानीकर्ताहरूले मात्रै किनेका छैनन्।

वर्ल्ड गोल्ड काउन्सिलका अनुसार गत वर्ष कैयौँ देशका केन्द्रीय ब्याङ्कहरूले आफ्नो भण्डारमा सयौँ टन सुनचाँदी थुपारे।

काभालिसका अनुसार अमेरिकी डलर भण्डार गर्ने चलनबाट टाढिन खोजेको र सुन सङ्कलन गर्न थालेको स्पष्ट सङ्केत देखा परेको छ। यो वर्षको आरम्भमा पनि सुनको मूल्यवृद्धिले निरन्तरता पायो। तर फ्रापल ूसमाचारबाट प्रेरितू हुने बजारका कारण सुनको मूल्य घट्न सक्ने चेतावनी पनि दिन्छन्।

'अनपेक्षित समाचार आउन सक्ने सम्भावना पनि हुन्छ जुन विश्वका लागि राम्रो भए पनि सुनका लागि सकारात्मक नहुन सक्छ, उनी भन्छन्। तर सबै जनाले लगानी गर्नकै लागि सुन किनेका भने होइनन्।

धेरै देशमा बिहेवारीमा उपहार दिन र तिहारजस्ता चाडपर्वमा सुन किन्ने प्रचलन छ। अमेरिकी लगानी ब्याङ्क मोर्गन स्ट्यान्लीका अनुसार भारतमा सर्वसाधारण मानिसहरूसँग ३८ खर्ब डलर बराबरको सुन छ।

त्यो भनेको भारतको कुल गार्हस्थ्य उत्पादन जीडीपीको ८८.८ प्रतिशत हो। छिमेकी देश चीन सुनका लागि सबैभन्दा ठूलो बजार हो। चीनमा मानिसहरू सुनले भाग्यशाली बनाउने विश्वास गर्छन्।

'चिनियाँ नववर्षको छेकोमा सुनको माग ह्वात्तै बढ्छ। अहिले त्यही भइरहेको छ,' काभालिसले भने। चीनमा फेब्रुअरी महिनादेखि चिनियाँ संवत् फेरिँदै छ। बीबीसीबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार