पेरिस, फ्रान्स, पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा प्रदर्शनकारीलाई हत्या गरिएमा अमेरिका हस्तक्षेप गर्न तयार रहेको चेतावनी दिएका छन । उनले इरानले प्रदर्शनकारीमाथि हिंसा गरे अमेरिका उनीहरूको उद्धारका लागि अघि बढ्ने बताए ।
इरानका विभिन्न सहरमा बिहीबार प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको थियो, जसमा कम्तीमा छ जनाको मृत्यु भएको इरानी सञ्चार माध्यमले जनाएका छन् । पछिल्लो समय इरानको बढ्दो महँगी, आर्थिक मन्दी र बेरोजगारीको विरोधमा राजधानी तेहरानबाट सुरु भएको आन्दोलन अन्य सहरमा फैलिएको हो ।
केही व्यापारीले पसल बन्द गरेर विरोध जनाएका थिए । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत इरानले शान्तिपूर्ण प्रदर्शनकारीलाई हिंसात्मक रूपमा मार्ने परम्परा दोहोर्याएमा अमेरिका लक्ड एन्ड लोडेड अवस्थामा रहेको उल्लेख गरे । यस अभिव्यक्तिप्रति इरानले कडा प्रतिक्रिया जनाएको छ ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले ट्रम्पको भनाइलाई लापरवाह र खतरनाक भन्दै कुनै पनि बाह्य हस्तक्षेपले क्षेत्रीय अस्थिरता निम्त्याउने चेतावनी दिए । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका प्रमुख अली लारिजानीले अमेरिकी हस्तक्षेप भए सम्पूर्ण क्षेत्र अस्थिर हुने र अमेरिकाकै हितमा क्षति पुग्ने बताए ।
सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईका सल्लाहकार अली शमखानीले पनि इरानको सुरक्षा रेड लाइन भएको भन्दै कुनै हस्तक्षेपको कडा जवाफ दिइने चेतावनी दिएका छन ।
यद्यपि, राष्ट्रपति मसूद पेजेश्कियानसहित इरानी नेताले आर्थिक समस्याका कारण भएको शान्तिपूर्ण प्रदर्शनलाई जायज भएको बताए ।
पेजेश्कियानले जनताको आर्थिक पीडालाई सम्बोधन नगरे सरकार नै नैतिकरूपमा दोषी ठहरिने बताए । तर, सरकारले अव्यवस्था र हिंसालाई भने सहन नसकिने स्पष्ट पारेको छ ।
इरानको अर्थतन्त्र वर्षौदेखि लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण कमजोर बनेको छ । उच्च मुद्रास्फीति, अवमूल्यन भएको मुद्रा र रोजगारीको अभावले जनजीवन प्रभावित भएको छ ।
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर टुर्कले इरानी अधिकारीलाई अभिव्यक्ति, सङ्गठन र शान्तिपूर्ण प्रदर्शनको अधिकारको सम्मान गर्न आग्रह गरेका छन ।
यसैबिच, भेनेजुएलाले पनि ट्रम्पको टकरावपूर्ण अभिव्यक्तिप्रति चिन्ता व्यक्त गर्दै इरानमाथिको हस्तक्षेपले क्षेत्रीय स्थिरतामा असर पार्ने जनाएको छ ।
हालका प्रदर्शन सन् २०२२ मा महसा अमिनीको मृत्युपछि भएको व्यापक आन्दोलनभन्दा साना भए पनि कम्तीमा २० सहरमा प्रभाव परेको बताइएको छ ।
सामाजिक सञ्जालमा आएका धेरै भिडियो स्वतन्त्र रूपमा पुष्टि गर्न कठिन रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । एएफपी