काठमाडौँ, पुस । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझै पनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पारेका छन ।
बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्य, सामुहिक पहल कार्यक्रममा उनले लगानीको वातावरण नबनेको भन्दै सरकारलाई वातावरण बनाउन आग्रह गरे ।
उनका अनुसार समृद्धिका लागि निजी क्षेत्रको संरक्षणको विषय भने अझै पनि ओझेलमा परेको छ । निजी क्षेत्रले निर्वाध रुपमा काम गर्न पाउने वातावरणको ग्यारेन्टी अझै पनि हुन नसकेको सकेको छैन ।
ढकालले गलत काम गर्नेहरुमाथि कारबाही नहुँदा दण्डहीनता मौलाउँदै जाने हो कि भन्ने आशंका बढेको बताए । उनका अनुसार उद्यमी र उद्यमशीलता विकासका लागि सहज नीतिगत व्यवस्था, निजी क्षेत्रको सम्मान, निर्वाध पेशा व्यवसाय गर्न पाउने सुनिश्चितता र सम्पत्तिको सुरक्षा महशुस नगर्दासम्म मुलुकमा लगानी हुँदैन ।
लगानी नभइ रोजगारी हुँदैन । रोजगारी नभइ आयस्तरमा सुधार हुँदैन । आयस्तर बढ्न सकेन भने मानव बिकासमा अपेक्षाकृत सुधार पनि हुन सक्दैन । शिक्षा र स्वास्थ्य सर्वसुलभ बनाउन राजश्व बढ्नुपर्छ । राजश्व बढन निजी क्षेत्रले काम गर्न पाउने वातावरण र काम गर्न प्रोत्साहित गरिने नीति आवश्यक छ ।
अध्यक्ष ढकालले भने, ' पछिल्लो डेढ वर्षदेखि सरकार करिव डेढ खर्ब रुपैयाँले घाटामा छ । बैंकहरु करिव ११ खर्ब रुपैयाँ लगानी गर्न तयार छन् । निजी क्षेत्र रकम लिएर उद्यम गर्न चाहँदैन । त्यसैले राजश्वको रकमले कर्मचारीको तलब भत्ता पनि नपुग्ने अवस्था आएको छ । पूर्वाधारमा लगानी हुन सकेको छैन ।
निजी क्षेत्रले निर्माण गर्ने पूर्वाधारमा पनि विभिन्न बहाना बनाएर अवरोध हुने गरेको छ । पूर्वाधार निर्माण र उद्योग कल कारखाना भएनन् भने रोजगारी कसरी सम्भव होला ? स्वदेशमै रोजगारी दिने कल्पना कसरी सम्भव होला ?
सरकारले वर्षको ३ हजारदेखि ३५ सय जनालाई मात्रै रोजगारी दिनसकेको छ । निजी क्षेत्र संकुचित हुँदा त्यहाँ पनि अवसर छैन । त्यसैले युवाहरु विदेशिन वाध्य छन् । विदेशमा पुगेर निजी व्यवसायमा युवाहरु काम गर्न हुने हो भने नेपालमै निजी उद्योग तथा प्रतिष्ठानमा काम गर्न किन नहुने ?