काठमाडौँ, पुस । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए- नेपाल) अन्तर्गत बन्ने दुई वटा सडक आयोजनाका लागि करिब दुई करोड ३७ लाख अमेरिकी डलर बराबरको सम्झौता भएको छ ।
एमसिए- नेपालले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गतका सडक मर्मत आयोजना कार्यान्वयनका क्रममा पूर्व(पश्चिम राजमार्गको धानखोलाबाट लमहीसम्मको खण्डको स्तरोन्नतिका लागि शर्मा- कुमार संयुक्त उपक्रमसँग करिब दुई करोड अमेरिकी डलर बराबरको सम्झौता गरेको हो ।
यसैगरी एमसिए नेपालले हालै उक्त सडक खण्डको सडक स्तरोन्नति कार्य र नारायणघाट- मुग्लिङ सडक खण्डको आवधिक मर्मतको सुपरिवेक्षणका लागि इन्टरनेसनल कन्सल्टान्ट एन्ड टेक्नोक्राट्स प्रालिसँग करिब ३६ दशमलव छ लाख अमेरिकी डलर मूल्य बराबरको सम्झौता गरेको विज्ञप्तिमा उल्लेख छ ।
यी आयोजना अन्तर्गत पूर्व- पश्चिम राजमार्गको धान खोलादेखि लमहीसम्मको ४० किलोमिटर सडक खण्डमा स्तरोन्नति गरी १२ मिटर चौडा गरिने छ भने नारायणघाट- मुग्लिङ सडक खण्डको आवधिक मर्मत गरिने छ ।
एक कार्यक्रमबिच एमसिए- नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र शर्मा(कुमार संयुक्त उपक्रमका आधिकारिक प्रतिनिधि सौरभ शर्माले धान खोलाबाट लमहीसम्मको सडक खण्डको स्तरोन्नति कार्यसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । रासस