२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

' राजनीतिक सङ्कटको निकास निर्वाचन ' : अध्यक्ष प्रचण्ड

शुक्रवार , पौष ४, २०८२

 

गौशाला (महोत्तरी) , पुस । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ' प्रचण्ड' ले देशको वर्तमान राजनीतिक सङ्कटको निकास दिन प्रतिनिधि सभाको चुनाव नै एक मात्र विकल्प भएको बताएका छन । उनले त्यसका लागि पार्टीका सम्पूर्ण कार्यकर्तालाई चुनावको तयारीमा जुट्न निर्देशन पनि दिएका छन ।

महोत्तरीको गौशाला नगर कमिटीद्वारा स्व। नेता काशी महतो (करण) को श्रद्धाञ्जली सभामा बोल्दै प्रचण्डले देशलाई स्थिरता र निकास दिन अब चुनावको तयारी अपरिहार्य भइसकेको बताए ।

उनले निर्वाचन हुने कुरामा कोही कसैले सन्देह लिन नपर्ने र यदि कुनै कारणवश निर्वाचन हुन सकेन भने पनि राष्ट्रिय सहमति मार्फत अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

स्वर्गीय काशी महतोको गत मङ्सिर २२ गते हृदयाघातका कारण निधन भएको थियो । प्रचण्डले नेता महतोप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कृषि र सामाजिक रूपान्तरणमा नयाँ ढङ्गले अगाडि बढ्नु नै काशी महतो (करण) प्रतिको वास्तविक श्रद्धाञ्जली हुने बताए ।

काशी महतोले कृषिबाट नै परिवर्तन गर्न सकिन्छ भन्ने जोशका साथ जुन अभियान चलाउनुभएको थियो त्यो अनुकरणीय रहेको प्रचण्डले बताए ।

प्रचण्डले तराई मधेश उर्वर भूमि भएको बताउँदै यसलाई अन्न भण्डारकै रूपमा विकास गर्नुपर्ने बताए । चुरे दोहनको कारण मरुभूमीकरणको समस्या बढ्दै गएको चिन्ता व्यक्त गर्दै प्रचण्डले समस्यालाई यथाशक्य चाँडै समाधान गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले काशी महतो (करण) सबैका प्रेरणाका स्रोत रहेको बताए । उनले भने, प्रेरणाका स्रोतलाई इतिहासमा सधैँ जीवित राख्न सक्नु पर्छ ।

स्मारिका, लेख, रचनामार्फत उनले दिएका योगदानलाई लिपिबद्ध गर्न आवश्यक छ । नेपाली कम्युनिस्ट पार्टीका चित्र जर्गाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महेन्द्रराय यादव, गिरिराजमणि पोखरेललगायत शीर्षस्थ नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार