ट्रम्पको प्रशासनको राष्ट्रिय सुरक्षा रणनीतिले अमेरिकाका सबैभन्दा निकट सहयोगीहरूलाई झस्काएको छ। यसले दशकौँदेखि कायम रहेका अमेरिकी मान्यताहरूमा नाटकीय फेरबदल ल्याएको छ। अमेरिकी प्रशासनले गत साता सार्वजनिक गरेको ३३ पृष्ठ लामो दस्ताबेजले विश्वलाई आर्थिक मञ्चका रूपमा प्रस्तुत गरेको छ।
त्यसमा द्विपक्षीय सम्झौता र आर्थिक राष्ट्रवादलाई बहुपक्षीयता र प्रजातन्त्रको प्रवर्धनभन्दा माथि राखिएको छ। यसले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनका 'अधिकांश वैचारिक खटपटहरू' लाई प्रतिबिम्बित गर्छ, बीबीसी न्यूजका अमेरिकी विदेश मन्त्रालय संवाददादा टम ब्याट्म्यानले 'द ग्लोबल स्टोरी' पड्कास्टसँग भने।
यो दस्ताबेजमा उत्तिकै रोचक अर्को पक्ष के छ भने रुस वा चीनजस्ता परम्परागत विरोधीहरूको करिब केही आलोचना नै छैन। बरु यसमा युरोपबारे केही कठोर भाषा प्रयोग गरिएको छ। त्यसले यसै साता युरोपेली राजधानीहरूमा चिन्ता समेत बढाएको छ।
सभ्यता मेटाउँदैु युरोप ?
यसअघिका राष्ट्रिय सुरक्षा रणनीतिहरू अमेरिका र युरोपेली देशहरूबीच साझा मूल्यमान्यतामा अडिग रहने गरेका थिए। तर यो दस्ताबेजले फरक मोड लिएको छ।
उक्त महादेशले अँगालेको आप्रवासन नीति र बहुपक्षीय संस्थाहरूका कारण यसको 'पश्चिमा प्रभाव' ओझेलमा पर्ने अमेरिकी दस्ताबेजमा उल्लेख छ।
एउटा खण्डमा उक्त रणनीतिले स्पष्टसँग युरोपले ' सभ्यता मेटाइरहेको' दाबी गरेको छ। युरोपेली नेताहरू निजी कुराकानीमा यो दस्ताबेजबाट ' स्तब्ध' भएको बीबीसीका अमेरिकी परराष्ट्र मन्त्रालय संवाददाताले उक्त पड्कास्टमा भनेका छन्।
' (ट्रम्प) प्रशासनको एउटा पक्षको वैचारिक अडानबारे उनीहरू अचम्भीत छैनन्। तर औपचारिक नीतिगत दस्ताबेजमा यसरी व्याख्या गरिएको विषय चाहिँ उनीहरूका लागि साँच्चिकै चिन्ताको विषय हो, उनी भन्छन्।
ट्रम्प प्रशासनको युरोपप्रति फेरिँदो दृष्टिकोणको सबैभन्दा पहिलो सङ्केत फेब्रुअरीमा देखा परेको थियो। त्यस बेला अमेरिकी उपराष्ट्रपति जेडी भान्सले युरोपेली प्रजातन्त्रबारे अपमानजनक टिप्पणी गरेका थिए।
म्युनिख सुरक्षा सम्मेलनमा उनले आप्रवासन र अभिव्यक्ति स्वतन्त्रताबारे मतदाताको चिन्ता बेवास्ता गरेको भन्दै युरोपेली नेताहरूको आलोचना गरे। यो असहज सम्बन्ध युक्रेन युद्धमा अझै स्पष्टसँग देखियो।
ट्रम्प प्रशासनको नयाँ सुरक्षा रणनीतिको दस्ताबेजले युरोपले शक्ति गतिशिलताबारे कुरा नबुझेको र अमेरिकाले यो क्षेत्रको स्थिरताका लागि आफ्नो कूटनीतिक ऊर्जा खर्चिनुपर्ने औँल्याएको छ।
युक्रेन युद्ध अन्त्यका लागि अमेरिकाले गरिरहेको प्रयासमा युरोपेली सङ्घ (ईयू) ले अवरोध गरेको आरोप दस्ताबेजमा लगाइएको छ। त्यसमा भनिएको छ, अमेरिकाले 'रुसका लागि रणनीतिक स्थायित्व पुनर्स्थापित गर्नुपर्छ, जसले 'युरोपेली अर्थतन्त्रलाई स्थायित्व दिन्छ।'
युक्रेन सक्षम राज्यका रूपमा रहनुपर्छ तर रुसको प्रभावशाली स्वरूपलाई पनि उसले स्वीकार गर्नुपर्छ भन्ने यसको खास सन्देश देखिन्छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युरोप र युक्रेनबारे आफ्नो 'धैर्य गुमाइरहेका छन्, हाम्रा संवाददाता भन्छन्।
' यो स्पष्ट छ कि... युक्रेनीहरूले खास गरी आत्मसमर्पणका रूपमा हेरिरहेको स्थिति स्वीकार गर्न युरोपेलीहरूमाथि त्यस्तो दबाव छ,' उनले पड्कास्टमा भनेका छन्।
undefined
युक्रेनको विषयलाई लिएर देखिएको तनाव यसअघि नै उच्चस्तरीय भेटवार्ताका क्रममा सतहमा देखिइसकेको छ। गएको फेब्रुअरीमा ओभल अफिसमा ट्रम्प र भान्ससँग भएको जेलेन्स्कीको भेटका क्रममा जेलेन्स्कीले 'अनादरू गरेको र 'कृतध्न' भएको आरोप लाग्यो।
अहिले युरोपेली नेताहरू स्पष्ट भइसकेका छन् कि अमेरिकाले किएभभन्दा मस्कोको प्राथमिकतामा परिणाम आउने गरी दबाव दिन सक्छ। रुसले अमेरिकाको राष्ट्रिय सुरक्षा रणनीतिको स्वागत गरेको छ र त्यसलाई उनीहरूको दृष्टिकोणबारे 'खास अटल' रहेको बताएको छ।
' ट्रम्प संस्करण'
युरोपको आलोचना गरिए पनि नयाँ सुरक्षा रणनीतिले अमेरिकालाई 'पश्चिमी गोलार्ध' का रुपमा चित्रित गर्दै आफ्नो स्तर बढाएको छ। यसमा अमेरिकी विदेशनीतिमा खास ध्यान केन्द्रित गरिएको छ।
अमेरिकी प्रशासन 'यो क्षेत्र स्थिर रहेको र सुशासन कायम भएको हेर्न चाहन्छ किनभने यसले अमेरिकामा हुने ठूलो सङ्ख्याको आप्रवासन रोकथाममा सहयोग पुग्छ', दस्ताबेजमा भनिएको छ। यो रणनीतिले 'मन्रो सिद्धान्तको ट्रम्प संस्करणु अघि सारेको छ।
उन्नाइसौँ शताब्दीमा अमेरिकी राष्ट्रपति जेम्स मन्रोले अमेरिकावरपरको क्षेत्रलाई आफ्नै प्रभाव क्षेत्र मान्ने सिद्धान्त अघि सारेर युरोपेली उपनिवेशलाई कमजोर पार्न प्रयोग गरेकै सिद्धान्तको नयाँ संस्करणमा ट्रम्प प्रशासनलाई राखिएको छ।
यो प्रशासनले यस नयाँ अवधारणालाई ल्याटिन अमेरिकामा चीनको प्रभावको प्रतिवादका लागि आवश्यक रहेको रूपमा हेर्ने गरेको छ। तर यो दस्ताबेजमा चीनको नाम प्रत्यक्ष रूपमा लिइएको छैन।
चीनले यो क्षेत्रमा व्यापक आर्थिक पदचाप खडा गरिसकेको ट्रम्पले बताउने गरेका छन्। तर उनले भनेजस्तो चीनले पानमा कनाल 'सञ्चालन' गरिरहेको विषय वास्तवमा सही होइन।
undefined
यो रणनीतिमा सैनिक मामलाबारे खासै उल्लेख नभए पनि क्यारिबीअन क्षेत्रमा कथित लागुऔषध तस्करहरूविरुद्ध अमेरिकी हवाई हमला र भेनेजुएलाको तटीय क्षेत्रमा कैयौँ अमेरिकी युद्धपोत र हजारौँ सैनिकहरूको तैनाथीले सैन्य बल प्रयोगको जोखिम बढाएको छ।
नयाँ राष्ट्रिय सुरक्षा रणनीतिले वाशिङ्टन र युरोपभरि बहस जन्माएको छ। युक्रेन, अमेरिका(युरोप सम्बन्धमा यसको प्रभाव र विश्वव्यापी रूपमा यसको असरबारे अझै धेरै कुरा खुल्न बाँकी छ।
तर यो दस्ताबेजले एउटा कुरा स्पष्ट गरेको छ कि ट्रम्प प्रशासनले अमेरिकी विदेश नीतिका प्राथमिकताहरू पुनर्परिभाषित गर्न खोजेको छ। अनि आफ्ना सहयोगीहरूले त्यो नयाँ वास्तविकता स्वीकार गर्ने अपेक्षा पनि गरेको छ। - बीबीसीबाट