२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

'विश्वले मानव जीवन बचाउन ध्यान दिनुपर्छ' : राष्ट्र सङ्घ

सोमवार , मंसिर २२, २०८२

 

संयुक्त राष्ट्र, मङ्सिर । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेखिएको भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ । सहयोग कार्यक्रमका लागि आवश्यक रकम निकै कमी हुँदा यस वर्षको माग सीमित दायरामा प्रस्तुत गरिएको संयुक्त राष्ट्रले जनाएको छ ।

संयुक्त राष्ट्रका मानवतावादी प्रमुख टम फ्लेचरले २०२५ भरि विभिन्न देशमा देखिएका हिंसा, यौन अत्याचार, मानव अधिकार उल्लङ्घन र कानुनको अवज्ञाले आफूलाई गम्भीररूपमा दुखित बनाएको बताए । उनका अनुसार, ' यो त्यस्तै समय हो जब नियम कमजोर भइरहेका छन् र विश्वको ध्यान मानव पीडाबाट विस्थापित हुँदै गएको छ ।

संयुक्त राष्ट्रले गाजा, युक्रेन, सुडान र म्यानमा जस्ता सङ्कटग्रस्त क्षेत्रमा आठ करोड ७० लाख मानिसलाई सहयोग गर्न कम्तीमा २३ अर्ब अमेरिकी डलर उठाउने लक्ष्य राखेको छ । सन् २०२६ मा १३ करोड ५० लाख मानिसलाई सहयोग पुर्याउन ३३ अर्ब डलर आवश्यक पर्ने अनुमान छ, तर यो लक्ष्य हाँसिल गर्न चुनौतीपूर्ण छ ।

संयुक्त राष्ट्रको अनुमान अनुसार, युद्ध, महामारी, प्राकृतिक प्रकोप वा जलवायु परिवर्तनबाट प्रभावित करिब २४ लाख मानिसलाई आपतकालीन सहायता आवश्यक छ । गाजा र पश्चिमी किनारा प्राथमिकतामा छन् । संयुक्त राष्ट्रले यहाँ ३० लाख मानिसलाई सहयोग गर्न चार अर्ब १० करोड डलर माग गरेको छ ।

सुडानमा हिंसाबाट विस्थापित २० लाख मानिसलाई सहयोग गर्न दुई अर्ब ९ करोड डलर उठाउने योजना छ । फ्लेचरले सुडानको टाविला घटनाको उदाहरण दिँदै भने, ' एक आमा आफ्ना पति र बच्चा हत्या भएको देखेपछि बच्चासहित भागिन् । उनले धेरै पीडा सहिन्, तर साहस अझै बाँकी थियो ।

संयुक्त राष्ट्रले सदस्य राष्ट्रलाई ८७ दिनभित्र सहयोग जुटाउन आग्रह गर्ने छ । यदि माग पूरा भएन भने, नागरिक समाज, निजी क्षेत्र र साधारण मानिससम्म अभियान फैलाइने छ ।

फ्लेचरले भने, हामी विश्वले रक्षा खर्चमा खर्च गरेको रकमको केवल एक प्रतिशत भन्दा अलिकति मात्र मानवतावादी सहयोग माग गर्दछौँ । रक्षा खर्च कम गरेर मानवतावादी सहायता बढाउनु पर्छ । एएफपी

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार