नयाँदिल्ली, मङ्सिर । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणलाई रणनीतिक साझेदारी पुनर्जीवित गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिँदै रूसका प्रथम उपप्रधानमन्त्री डेनिस मन्तुरोभले यसलाई वार्षिक उच्चस्तरीय शिखर सम्मेलनको परम्परामा पुनरागमन भएको बताएका छन ।
पुटिनको लामो समयपछि हुन लागेको यो पहिलो भारत भ्रमणका लागि दुवै पक्षका अधिकारीले डिसेम्बर ४(५ मा हुने उच्चस्तरीय बैठकलाई सफल बनाउने उद्देश्यले एजेन्डा सूक्ष्मरूपमा तयारी गरिएको मन्तुरोभको भनाइ छ । उनका अनुसार भ्रमणले दुवै देशबिच दशकौँदेखि कायम रहेको विश्वास, आत्मीयता र रणनीतिक सहकार्यलाई नयाँ गति दिने छ ।
भारत- रूस फोरम पनि यही अवसरमा नयाँदिल्लीमा आयोजना हुँदैछ, जसमा दुवै देशका प्रमुख सरकारी प्रतिनिधि तथा व्यावसायिक क्षेत्रका वरिष्ठ व्यक्तित्वको सहभागिता रहने छ ।
फोरमले भारतीय कच्चा पदार्थ, उपकरण र खाद्य सामग्रीको निर्यात विस्तार, द्विपक्षीय व्यापारको विविधीकरण, संयुक्त लगानी परियोजना र उच्च प्रविधि क्षेत्रमा सहकार्य वृद्धिका विषयमा गहन छलफल गर्ने छ ।
मन्तुरोभले फोरम व्यवसाय(व्यवसायबिच प्रत्यक्ष संवाद र साझेदारी विस्तार गर्ने प्रभावकारी मञ्च बन्ने अपेक्षा रहेको बताए । अर्को दशकमा भारत- रूस सम्बन्धबारे सोधिएको प्रश्नमा मन्तुरोभले दुवै राष्ट्र साँचो र दीर्घकालीन मित्रता मा आधारित भएर अझ लचिलो, सक्षम र भविष्यमुखी सहकार्यतर्फ अघि बढ्ने विश्वास व्यक्त गरे ।
उनका अनुसार विश्व राजनीति र अर्थतन्त्र तीव्र गतिमा परिवर्तन भइरहे पनि भारत र रूस आपसी हितका क्षेत्रमा(विशेषतः उच्च प्रविधि उद्योग, वैज्ञानिक अनुसन्धान र रणनीतिक समन्वयमा -गहिरो रूपमा जोडिने छन् ।
रूसी उपप्रधानमन्त्रीका अनुसार ग्लोबल साउथको प्रभाव बढिरहेको अवस्थामा मस्को- नयाँदिल्ली सहकार्यले विश्वव्यापी सन्तुलनमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने छ ।
संयुक्त प्रयासका कारण दुवै राष्ट्रको आवाज अन्तर्राष्ट्रिय मञ्चमा अझ प्रभावकारी बन्दै जाने उनको अपेक्षा छ । रुसी राष्ट्रपति पुटिनले प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा डिसेम्बर ४-५ मा भारत भ्रमण गर्न लागेका हुन । उनले २३ औँ भारत(रूस वार्षिक शिखर सम्मेलनमा सहभागी भई प्रधानमन्त्री मोदीसँग उच्चस्तरीय वार्ता गर्नु हुनेछ ।
भारतका राष्ट्रपतिबाट पनि शिष्टाचार भेटका साथै सम्मानमा विशेष भोजको व्यवस्था हुने छ । यस भ्रमणले सन् २०२१ पछि पुटिनको पहिलो भारत आगमनलाई चिह्नित गर्ने छ ।
दुवै नेताबिच पछिल्लो पटक यस वर्ष सेप्टेम्बरमा चीनको तियानजिनमा भएको एससिओ शिखर सम्मेलनको क्रममा भेटघाट भएको थियो । यो उच्चस्तरीय भेटघाटले द्विपक्षीय सम्बन्धको प्रगतिको समीक्षा, विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारीको दिशानिर्देश तय गर्ने तथा क्षेत्रीय तथा विश्वव्यापी मुद्दामा आपसी समन्वय बढाउने महत्त्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । एएनआई