काठमाडौँ, मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमाण्डु गोर्खाज विजयी भएको छ । काठमाण्डुले चितवन राइनोजलाई ५३ रनले हराएको हो । टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन १७ ओभर २ बलमा ८९ रन रन बनाउँदा अलआउट भएको हो ।
यो जितसँगै पाँच खेल खेलेको काठमाण्डुले ६ अङ्क जोडेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँ १९ दशमलव चार ओभरमा १४२ रनमा अलआउट भयो। चितवनका लागि जोन सिम्प्सनले सर्वाधिक ६० र मिलिन्द कुमारले ३८ रनको योगदान दिए ।
चितवनका सोहेल तनभिरले चार, कमल सिंह ऐरीले दुई र रञ्जित कुमारले दुई विकेट हात पारे । १४३ रनको लक्ष्य पछ्याएको चितवनका लागि देव खनाल र रवि बोपाराले समान २१-२१ रन बनाए भने सोहेल तनभिरले १८ रन जोड्नुबाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
चितवनलाई १७ ओभर दुई बलमा ८९ रनमै समेट्न काठमाण्डुका लागि राशिद खानले तीन विकेट लिँदा करण केसी मिलिन्द कुमार र साहब आलमले समान दुईदुई विकेट हात परे ।
उसका लागि सन्तोष यादवले एक विकेट लिरे । यो जितसँगै करण केसीको नेतृत्वमा रहेको काठमाण्डु ६ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
पाँच खेल खेलेको काठमाडौंले दुई खेल गुमाउँदा तीन खेल जितेको हो । कुशल मल्लको कप्तानीमा रहेको चितवन तीन खेलबाट चार अङ्क जोड्दै अङ्क तालिकाको चौथो स्थानमा झरेको छ । शुक्रबारको दोस्रो खेलमा कर्णाली र विराटनगर भिड्दैछन् ।