२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

हङकङमा भीषण आगलागी : '  ४४ जनाको मृत्यु, सयौँ  बेपत्ता '

बिहिवार , मंसिर ११, २०८२

 

हङकङ, मङ्सिर । हङकङको उत्तरी जिल्लास्थित आठ भवन भएको एक विशाल आवासीय कम्प्लेक्समा लागेको भीषण आगो नियन्त्रणमा लिन बिहीबारसमेत अग्नि नियन्त्रक निरन्तर प्रयासरत रहँदा मृतकको सङ्ख्या कम्तीमा ४४ पुगेको अधिकारीहरूले बताएका छन् ।

सयौँ मानिस प्रारम्भिक रूपमा बेपत्ता रहेका भए पनि केहीसँग पछि सम्पर्क स्थापित गरिएको फायर सेवाले जनाएको छ । बुधबार दिउँसो वाङ फुक कोर्टका ३१ तले आवासीय ब्लकमा गरिएको मर्मतसम्भार कार्यका क्रममा बाँकी रहेको ज्वलनशील सामग्रीका कारण आगो तीव्र गतिमा फैलिएको बताइएको छ ।

प्रहरीले गम्भीर लापरवाहीका साथ काम गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । घटनास्थल नजिकै फोम प्याकेजिङ फेला परेपछि उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।

एएफपी पत्रकारले बिहीबार बिहानसम्म केही फ्ल्याट अझै पनि जलेको देखे पनि आगोको तीव्रता घट्दै गएको थियो । बाँसको मचानमा लागेको आगोले ठूलो आवाज निकाल्दै धुवाँ र खरानी आकाशसम्म उडेको थियो ।

६५ वर्षीय निवासी युएनले झ्याल मर्मतका कारण बन्द भएकाले धेरै बासिन्दालाई आगो लागेको थाहा पाउन ढिलाइ भएको र छिमेकीले फोन गरेर मात्र खाली गर्न आग्रह गरेको बताए ।

हङकङ अग्निशमन विभागका निर्देशक एन्डी युङका अनुसार मृतकमध्ये ३७ वर्षीय एक अग्नि नियन्त्रक पनि छन् । उनी सहकर्मीसँग सम्पर्क विच्छेद भएको केही समयमै गम्भीररूपमा जलेको अवस्थामा भेटिएका थिए ।

सरकारी प्रवक्ताका अनुसार ५६ जना घाइतेको उपचार भइरहेको छ, जसमा केहीको अवस्था गम्भीर छ । सहरका नेता जोन लीले करिब २७९ जनासम्म बेपत्ता भएको प्रारम्भिक अनुमान रहेको बताउँदै ९०० भन्दा बढी बासिन्दाले अस्थायी आश्रय लिएर बस्नुपरेको जानकारी दिए ।

तर राहतकर्मीले रातभर बेपत्ता सूची अद्यावधिक गरिरहेकाले वास्तविक सङ्ख्या पुष्टि हुन बाँकी रहेको बताइएको छ । फायर सर्भिसका उप निर्देशक डेरेक आर्मस्ट्रङ चानले ‘घटनास्थलको ताप अत्यन्तै उच्च भएकाले केही तलासम्म पुग्न कठिन भएको बताउँदै उद्धार प्रयास निरन्तर जारी राखिने जनाए ।

हावा र खसेका भग्नावशेषका कारण आगो एक ब्लकबाट अर्कोमा फैलिएको सम्भावना पनि उनले उल्लेख गरे । चिनियाँ राष्ट्रपति सी जिनपिङले मृतक तथा घाइतेप्रति समवेदना व्यक्त गरेका छन भने सहरका नेता लीले आफू गहिरो दुःखी रहेको बताउँदै प्रभावित बासिन्दालाई आवश्यक सहयोग उपलब्ध गराइने आश्वासन दिएका छन । एएफपी

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार