२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

एनपिएल : ' सुदूपश्चिमसँग कर्णाली याक्स पराजित '

सोमवार , मंसिर ८, २०८२

 

काठमाडौँ, मङ्सिर। कप्तान दीपेन्द्र सिंह ऐरीको अलराउन्ड प्रदर्शनसँगै बलरहरु चम्किएपछि साविक उपविजेता सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएलमा) मा लगातार तेस्रो जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार साँझ भएको खेलमा सुदूरपश्चिमले कर्णाली याक्समाथि ४५ रनको रोमाञ्चक जित हात पार्यो । जितसँगै सुदूरपश्चिमले तीन खेलबाट ६ अङ्क बनाएको छ ।

सुदूरपश्चिम जारी लिगमा अपराजित रहने दोस्रो टोली हो । विराटनगर किङ्सले पनि लगातार तीन खेल जित्दै ६ अङ्क बनाएको छ । तीन खेलमा दोस्रो हार खेपेको कर्णालीको दुई अङ्क छ ।

जितका लागि एक सय ४० रनको सामान्य लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा ९४ रन मात्र बनाउन सक्यो ।

कर्णालीका लागि पवन सर्राफले सर्वाधिक २७ रन बनाउनुभयो । यस्तै मार्क वार्टले १७, कप्तान सोमपाल कामीले १४, गुल्शन झा र अर्जुन घर्तीले समान १३-१३ रन बनाए ।

कर्णालीलाई स्तब्ध बनाउन बलिङमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले एक्लैले चार विकेट लिए । उनले पूरै चार ओभर बलिङ गर्दै २३ रन खर्चिएका थिए ।

यस्तै हर्मित सिंह र अविनाश बोहराले दुई दुई तथा हेमन्त धामी र स्कट कुगेलेइजनले एक एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३९ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरिले २८ बलमा एक चौका र दुई छक्काको सहयोगमा ३९ रन बनाए । यस्तै आरिफ शेखले २५ बलमा तीन चौकासहित २७, हर्मित सिंहले १९ र क्रिस लिनले १८, ओपनर विनोद भण्डारीले ११ र स्कट कुगुलेइजनले १० रन बनाए ।

बलिङमा कर्णालीका कप्तान सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । यस्तै नन्दन यादवले दुई तथा मार्क वार्ट, विपिन शर्मा र युवराज खत्रीले एक एक विकेट लिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार