२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

दिल्लीमा घातक कार विस्फोट

प्रधानमन्त्री मोदीले भने : ' षड्यन्त्र ' हो, कारबाही हुन्छ

मंगलवार , कार्तिक २५, २०८२

 

नयाँदिल्ली, कात्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानीको मुटुमा भएको घातक कार विस्फोटलाई गम्भीर षड्यन्त्र भन्दै यस घटनाका दोषीलाई न्यायको कठघरामा उभ्याइने प्रतिबद्धता जनाएका हुन ।

सोमबार ऐतिहासिक लालकिल्ला नजिकै भएको उक्त विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु र १९ जनाभन्दा बढी घाइते भएका छन् । भारतका सबैभन्दा चिनिएका स्मारक मध्ये एक लालकिल्ला नजिकै भएको उक्त विस्फोटको कारण र स्वरूपबारे अनुसन्धान जारी रहेको दिल्ली प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री मोदीले भुटानको राजकीय भ्रमणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै भने, ' म सबैलाई विश्वास दिलाउँछु कि सम्बन्धित एजेन्सीले सम्पूर्ण षड्यन्त्रको तहसम्म पुग्ने छन् । यस घटनामा संलग्न सबैलाई न्यायको कठघरामा ल्याइने छ । अप्रिल २२ पछि भारतमा यो सबैभन्दा ठुलो सुरक्षा घटना हो ।

उक्त दिन दिन भारत प्रशासित कश्मीरको पहलगाममा भएको आक्रमणमा २६ जना हिन्दू नागरिकको हत्या भएको थियो । त्यसपछि भारत र पाकिस्तानबिच सीमा तनाव चर्किएको थियो ।

सोमबारको विस्फोट केही घण्टाअघि भारतीय प्रहरीले पाकिस्तानमा आधारित आतङ्कवादी समूह जैश(ए(मोहम्मद र अल- कायदाको काश्मीर शाखा अन्सार गजवत-उल- हिन्दसँग सम्बन्धित गिरोहका सदस्यलाई पक्राउ गरी विस्फोटक पदार्थ र आक्रमणकारी राइफल बरामद गरेको घोषणा गरेको थियो । यी दुवै समूह भारतमा प्रतिबन्धित आतङ्कवादी सङ्गठनको रूपमा सूचीबद्ध छन् ।

रक्षामन्त्री राजनाथ सिंहले पनि नयाँदिल्लीमा आयोजित सम्मेलनमा अनुसन्धान एजेन्सी गहन र तीव्र अनुसन्धानमा जुटेका छन् भन्दै अनुसन्धानको नतिजा चाँडै सार्वजनिक गरिने बताए । उनले प्रधानमन्त्री मोदीका शब्दसँगै दोहोर्याउँदै भने, यस दुःखद घटनाका दोषी कुनै पनि परिस्थितिमा उन्मुक्ति पाउने छैनन्, तिनीहरूलाई कठोर सजाय दिइने छ ।

दिल्ली प्रहरीका वरिष्ठ अधिकारी राजा बन्थियाले पुरानो दिल्लीको भीडभाडपूर्ण क्षेत्रमा भएको विस्फोटको अनुसन्धान आतङ्कवाद विरोधी कानुन अन्तर्गत भइरहेको जानकारी दिए ।

नयाँदिल्लीका उप प्रमुख अग्नि अधिकारी एके मलिकका अनुसार घटनापछि आठ जनाको मृत्यु भएको पुष्टि भएको थियो, तर प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार मृतकको सङ्ख्या १२ पुगेको अनुमान गरिएको छ, यद्यपि उक्त तथ्याङ्क अझै आधिकारिक रूपमा पुष्टि भएको छैन ।

भारत सरकारले यस घटनालाई पाकिस्तानको समर्थनमा सञ्चालित आतङ्कवादी गतिविधिसँग जोड्दै कडा प्रतिक्रिया जनाएको छ । यद्यपि पाकिस्तानले ती आरोप अस्वीकार गरेको छ ।

अप्रिलको पहलगाम आक्रमणपछि दुवै आणविक शक्ति सम्पन्न देशबिच मे महिनामा गोलीबारी, तोपखाना र ड्रोन आक्रमणमा ७० जनाभन्दा बढीको मृत्यु भएको थियो । त्यसपछि मात्र युद्धविराम कायम गरिएको थियो ।

भारतको राजधानीमा यसअघि सन् २०११ सेप्टेम्बरमा ठुलो आतङ्कवादी आक्रमण भएको थियो । सो बेला ब्रिफकेसमा लुकाइएको बम उच्च अदालत बाहिर विस्फोट भएको थियो । हालको दिल्ली विस्फोटलाई त्यसपछिको सबैभन्दा गम्भीर सुरक्षा चुनौतीका रूपमा हेरिएको छ । एएफपी

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार