जेन- जी आन्दोलनले नेपालको राजनीतिक धरातललाई हिलो पोखरी जस्तै स्थिर देखिने अवस्थाबाट एकाएक तरंगित बनाइदिएको छ। दशकौंदेखि उही अनुहार, उही नारा र उही शैलीले राजनीति कब्जा गरेको आरोप लागेको छ दलका शीर्ष नेतालाई। अब बाटो परिवर्तन हुनैपर्छ भन्ने जनताको आवाज सुनिएको छ। त्यसैले दलहरूमा युवा नै नेतृत्वमा जानुपर्छ आवाज बढेको छ। तर, कमैले सर्सर्ती मूल्यांकन गरेका होलान् जुर्मुराएका भनिएका युवाहरूको अवस्था ।
जसरी जसजसको नाम युवा नेतृत्वमा आएको छ, चर्चा चलिरहेको छ, तिनले गरेका काम र शैली अनि प्रस्तुतिले के दिगो आधार दिन सकेको छ , युवाहरूले पुराना संरचना र परम्परागत नेतृत्वलाई चुनौती त दिए तर के तिनले प्रतिस्थापित हुँदा भूमिका निभाउन सक्लान् त ? आफ्नै राजनीतिक दलहरूभित्र पनि पुस्तान्तरणको माग उठाएका छन्। तर के युवा नेतृत्वको लहर चलिरहँदा तिनले दल र सरकार हाँक्न साँच्चै सक्लान् ? पुगे पनि तिनको अनुभवले के पूर्णकाम गर्ला ?
यसको अर्थ युवा नेतृत्वप्रति अविश्वास र भरोसा नभएको भन्ने होइन, त्यो क्षमता के कतिसँग छ र त्यो कत्तिको दिगो ढंगले अघि बढ्ला र जनअपेक्षा पूरा गर्ला ? यो प्रश्न किन पनि उब्जिएको छ भने जेन- जी आन्दोलनपछि बनेको सरकारबाट नागरिकले जे अपेक्षा राखेका थिए, त्यो अहिले के, कति र कसरी हुँदैछ भन्नेबाट अन्दाज गर्न सकिन्छ।
कांग्रेस सभापतिले सक्रिय नेतृत्व त्यागेपछि पार्टीले नयाँ बाटो खोज्ने संकेत त देखायो, तर महाधिवेशन कहिले गर्ने भन्ने बहस पार्टीभित्रै हलचल मचिइरहेको छ। पार्टीका महामन्त्रीद्वयजस्ता युवा पुस्ताले तत्काल महाधिवेशनको माग गरिरहेका छन् भने संस्थापन पक्ष चुनावपछि मात्र महाधिवेशन गर्न चाहन्छ। तीन ध्रुवमा विभाजित कांग्रेसमा पुस्तान्तरणका लागि जनदबाब तीव्र छ। तर पुरानो पुस्ताले अवसर गुमाउने डरले होइन, नेतृत्व हस्तान्तरण गरेपछिको परिणमलाई मापन गरिरहेका छन्। एमालेले भने अर्ली महाधिवेशन, घोषणा गर्दै नेतृत्व परिवर्तनको बहसलाई संस्थागत स्वरूप दिएको छ।
युवा आवश्यक भएको धारणा युवा कार्यकर्ता र केही वरिष्ठ नेताहरूमा बलियो छ। यही कारण प्रतिनिधि छनोटमा ४० वर्षमुनिका युवालाई अनिवार्य स्थान दिने प्रावधानले एमालेभित्र नयाँ उत्साह पैदा गरेको छ। यति हुँदाहुँदै पनि युवाले सक्रियता बढाएर अनुभवीको बौद्धिकतासमेत जोड्दै दलसँगै देश विकासलाई निकास दिने कि ?
माओवादी केन्द्रमा पनि नेतृत्व विवाद, विभाजन र पुनःएकीकरणको झमेला देखिन्छ। प्रचण्डले नौ दलसँग एकता गरे पनि जनार्दन शर्मा, राम कार्कीलगायत नेताहरू अलग भएर नयाँ राजनीतिक अभियान सुरु गरिसकेका छन्। एकीकृत समाजवादी, रास्वपा, राप्रपा, जनमत पार्टी, नाउपा, विप्लव समूह सबै दलमा जेन- जी आन्दोलनपछि जस्तो हलचल छ, त्यो सामान्य झैं छ। कतै एकता, कतै फुट, कतै महाधिवेशन र कतै पुनर्गठन। सबैको मूलमा एउटै माग देखिन्छ, राजनीतिमा युवा नेतृत्व।
खासमा नेतृत्वभन्दा अहिलेको माग भनेको युवाको सक्रियता। युवा पुस्ता पनि मौन छैन, हुनु पनि हुँदैन। रोकिएको विकास, हराएको सुशासन, भ्रष्टाचारले थलिएका कार्यालयमा युवा पुस्ताको सक्रियताले नयाँ सम्भावना र ऊर्जा बोकेर ल्याउनेछ भन्नेमा जनविश्वास जगाउन आवश्यक छ। आज दलहरू आफ्नो अस्तित्व कायम राख्न चाहन्छन् भने युवा सक्रिय बनाए अवसर, जिम्मेवारी र निर्णय क्षमतामा सहभागी गराउनै पर्छ। जेन- जी आन्दोलनले सुरु गरेको परिवर्तनको लहर अब दलहरूको अन्तरिक सुधारमा रूपान्तरित हुँदैछ।